९ मंसिर २०८१, आईतवार
खेलकुद मुख्‍य समाचार समाचार समाज

श्रीलंकाको पोष्टमा ६ गोल गर्दै नेपाल बन्यो समूह विजेता

८ कात्तिक, काठमाडौं। नेपालले वुमेन्स साफ च्याम्पियनसिप(२०२४ मा बिहीबार श्रीलंकालाई ६–० ले पराजित गरेको छ । दशरथ रंगशालामा प्राप्त यस जितपछि नेपाल समूह ‘बी’ को विजेताका रूपमा सेमिफाइनल पुगेको छ ।
नेपाल प्रतियोगिताको सेमिफाइनल पुगेको यो लगातार सातौं पल्ट हो । नेपालले प्रतियोगिताका प्रत्येक संस्करणको सेमिफाइनल यात्रा तय गरेको छ ।
अब अन्तिम चारमा नेपालले भारत तथा डिफेन्डिङ च्याम्पियन बंगलादेशले भुटानको सामना गर्नेछ । दुवै सेमिफाइनल आइतबार हुनेछन् । समूह चरणका खेलको समाप्तीमा नेपाल र भुटान समान सात सात अंकमा रहे । गोल अन्तरको आधारमा नेपाल अगाडि रहेको हो । हारसँगै श्रीलंका भने प्रतियोगिताबाट बाहिरिएको छ ।
नेपालका लागि आठौं मिनेटमा सबिता रानामगरले गोलको खाता खोलेकी थिइन् । त्यसपछि सावित्रा भण्डारीले ११ औं मिनेटमा दोस्रो गोल गरिन् । पेनाल्टी एरिया बाहिरबाट गरेको यो गोल उत्कृष्ट रह्यो ।
सावित्राको नेपालका लागि यो ५४ औं गोल रह्यो । तेस्रो र चौथो गोल भने रेखा पौडेलको नाममा रह्यो । उनले १३ तथा ३६ औं मिनेटमा गोल गरिन् तथा नेपाल पहिहलो हाफमा चार गोलले अगाडि रह्यो ।
दोस्रो हाफको दोस्रो मिनेटमै अमिशा कार्कीले पाँचौ गोल गरिन् । रश्मिकुमारी घिसिङले दोस्रो हाफको इन्ज्युरी समयमा छैटौं गोल गरिन् ।

प्रतिक्रिया दिनुहोस्