१४ कार्तिक २०८१, बुधबार
मुख्‍य समाचार राजनीति समाज

सिंहदरबारको वैद्यखानाको लागि विकास समिति बनेको छ : मन्त्री पौडेल

१४ कात्तिक,  काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले सिंहदरबारको वैद्यखानाको लागि विकास समिति बनेको बताएका छन् ।

बुधबार धन्वन्तरि जयन्ती तथा राष्ट्रिय आरोग्य दिवस २०८१ को अवसरमा सिंहदरबार वैद्यखाना विकास समितिको ३०औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले  विषयगत र क्षेत्रगत व्यक्तिहरुलाई विकास समितिमा राखेर वैद्यखानालाई अगाडि बढाउने प्रयास गरेको बताएका हुन् ।

उनले  भने, ‘पहिलो चोटी सिंहदरबारको वैद्यखाना आएको हो । तर यसको लागि  हामीले विकास समिति बनाइसकेका छौं । धेरै भवनहरु छन्, पूर्वाधारहरु यस्तो रहेछन् भन्ने मलाई थाहा थिएन ।  हामीले गर्न खोजेका कामका लागि यहाँको पूर्वाधार पूर्ण नहोला तर न्युनतम आवश्यकता अनुसारको रहेछ । हामीले विषयगत र क्षेत्रगत व्यक्तिहरुलाई समितिमा राखेर यसलाई अगाडि बढाउने प्रयास गरेका छौं । ’

साथै उनले सिंहदरबारको वैद्यखानामा कयौं समस्याहरु भए पनि हामी सबैले मिलेर समस्याको समाधान गर्नुपर्ने बताए । उनले वैद्यखाना संस्थालाई सबै मिलेर उजागर गर्न समेत आग्रह गरे । त्यस्तै, उनले वैद्यखानाको उत्पादन घटेको भए पनि विश्वसनियता नघटेको बताए ।

प्रतिक्रिया दिनुहोस्