कात्तिक १९ मा साधारणसभा गर्ने एनआरएनएको निर्णय
१७ कात्तिक, काठमाडौँ । राजेन्द्र कुमार (आरके) शर्मा नेतृत्वको गैरआवासीय नेपाली संघ (एनआरएनए)ले कात्तिक १९ गते सोमबार साधारणसभा गर्ने निर्णय गरेको छ । बिहीबार बसेको एनआरएनए अन्तर्राष्ट्रिय समन्वय समिति (आईसीसी)को बैठकले सोमबार भर्चुअल माध्यमबाट साधारणसभा गर्ने निर्णय गरेको हो ।
साधारणसभालाई सभ्य र भव्य बनाउन उपाध्यक्ष गंगाधर गौतमको संयोजकत्वमा एक समिति समेत बनाइएको छ । समितिले सचिव र क्षेत्रअनुसारका पदाधिकारीलाई समेटेर कार्यक्रम व्यवस्थित गराउन काम गर्ने महासचिव बुद्धि सुवेदीले जानकारी दिए ।
साधारणसभामा महासचिव र कोषाध्यक्षको प्रतिवेदन पेस हुनेछ । यस्तै विधानमा केही थपघट गर्न आवश्यक भएमा त्यसमा काम गर्नका लागि महासचिव र उपमहासचिवसहितको एक टीम समेत बनाउन निर्णय बैठकले गरेको छ ।
बैठकले नेपाल सरकारका प्रतिनिधि, विभिन्न राजनीतिक दलका नेता, संघ संस्थाका प्रतिनिधिलाई समेत अतिथिको रुपमा बोलाउने निर्णय गरेको छ । कात्तिक २१ गते परराष्ट्र मन्त्रालयले एकताका लागि पूर्वअध्यक्ष शेष घलेसहितका १३ जनालाई बैठकमा बोलाएकै बेला शर्मा नेतृत्वको एनआरएनएले साधारणसभा बोलाउन लागेको हो। शर्मा नेतृत्वको समितिले एकताको पक्षमा रहेको भने बताएको छ । तर शर्मा पक्षले बद्री केसी पक्ष आधिकारिक नभएको जिकिर गर्दै आएको छ । गत वर्ष भएको महाधिवेशनबाट केसीले धाँधली गरेर चुनाव आफ्नो पक्षमा पारेको शर्माले दाबी गर्दै आएका छन् । केसीले धाँधली गरेकै कारण शर्माको नेतृत्वमा असन्तुष्ट समूहले नयाँ कार्यसमिति बनाएको थियो ।
बिहीबारको बैठकमा अध्यक्ष शर्माले आफू नेतृत्वको समितिले गरेका कामकारबाहीबारे जानकारी गराउनुका साथै बद्री केसी पक्षले हालै गरेको साधारणसभाबारे पनि धारणा राखेका थिए । उनले केसी पक्षले प्रधानमन्त्रीलाई समेत प्रयोग गरेर साधारणसभा गरेपनि वास्तविक एनआरएनएहरुको निकै कम सहभागिता देखिएको बताए । आफूहरुले केसीको अवैध साधारणसभाविरुद्ध अदालतमा समेत रिट दायर गरेको र अहिले कारण देखाउ आदेश भएको उनको भनाइ छ । केसी पक्षले अदालतमा भएको मुद्दाका साथसाथै गत चैत २१ मा सर्वोच्चबाट भएको फैसलाविपरीत साधारणसभा गरेको उनको भनाइ छ । यदि एनआरएनएमा आधिकारिक कोही छ भने आफू नेतृत्वको कार्यसमिति रहेको भन्दै उनले अदालतमा विचाराधीन मुद्दा भएकाले छिट्टै न्याय पाउने विश्वास व्यक्त गरे ।
‘उनले भने, ‘बद्री केसी पक्षले कुनै साधारणसभा गरेको होइन । भोजभतेरमा बोलाइएको कार्यक्रम हो ।’ सो कार्यक्रममा प्रधानमन्त्री केपी ओलीले एकताका लागि आग्रह गरेको आफूले सुनेको उल्लेख गर्दै शर्माले यदि यो सही हो भने सकारात्मक रहेको बताए । उनले आफूहरुले सोमबार गर्ने साधारणसभामा व्यापक सहभागिता गराउनका लागि सबैलाई सक्रियतापूर्वक लाग्न पनि आग्रह गरे ।
बैठकमा उपाध्यक्ष केशव पौडेलले यसअघि नै साधारणसभा गर्ने तयारी भएपनि विविध कारणले ढिलागरी साधारणसभा गर्न लागिएको बताए । उनले अब एनआरएनएको विवद समाधान हुने बाटोतर्फ रहेको उल्लेख गर्दै आफूहरु सत्यको पक्षमा रहेकाले जित हुने विश्वास व्यक्त गरे ।
यस्तै अर्का उपाध्यक्ष गंगाधर गौतमले केसी पक्षले संघकै सम्पत्तिलाई चरम दुरुपयोग गरेर कार्यक्रम गरेको बताउँदै त्यसमा ध्यानाकर्षण भएको बताए । उनले साधारणसभा गरेर आवश्यक काजगात आफूहरुको आधिकारिक निकाय परराष्ट्रमा बुझाइने बताए ।
कार्यक्रममा पदाधिकारीहरु सुनिल शाह, टंक गैरै, प्रमोद सिटौला, लोक दाहाल, मनोज गोर्खाली, ठाकुर ढुंगानालगायतले साधारणसभा सफल बनाउन लागिपर्ने बताए । यस्तै कार्यक्रममा सल्लाहकारहरु दुर्गा अचार्य, नारायण आचार्यलगायतले पनि धारणा राखेका थिए ।
यसैबीच तीन चिरामा विभाजित एनआरएनएलाई मिलाउन परराष्ट्र मन्त्रालयले कात्तिक २१ गतेका लागि बैठक बोलाएको छ । मन्त्रालयमा बस्ने बैठकका लागि मन्त्रालयले पुर्वअध्यक्ष शेषघलेसहितका १३ जनालाई पत्राचार गरिरहेको छ । सो बैठकमार्फत एनआरएनए एकताको औपचारिक प्रक्रिया सुरु ुहने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्