७ मंसिर २०८१, शुक्रबार
बागमती मुख्‍य समाचार समाचार समाज

टेलिकमको पाइपबाट पानी बगेपछि

२० कात्तिक, चितवन । पूर्व–पश्चिम राजमार्गमा पर्ने भरतपुर महानगरपालिकाको कार्यालय अगाडि सडकको बीचभागमा गाडिएको नेपाल टेलिकमको पाइपबाट निरन्तर पानी बगेपछि प्राविधिकहरु मुहानको खोजीमा लागेका छन् । दसैँ अघिदेखि पानी निस्किएर सडक भत्काएपछि पानीको मूल हुनसक्ने अनुमान गरिएको छ ।

डिभिजन सडक कार्यालय चितवनका इन्जिनियर शिला न्यौपानेले नेपाल टेलिकमले विछ््याएको पाइपबाट पानी निस्किएको बताए । सुरुमा जमिनबाट मूल फुटेको अनुमान गरिए भए पनि खनेर हेर्दा टेलिकमको पाइपबाट पानी आएको देखिएको उसले बताए ।

उसले भने, “वरपर कतै मूल फुटेर वा खानेपानीको पाइप फुटेर टेलिकमको पाइपमा छिरेको हुनसक्छ । नत्र तार हाल्न विछ्याइएको पाइपमा यत्रो पानी कसरी आयो होला ।” टेलिकमको पाइपमा कहाँबाट पानी छि-यो भन्ने पहिचान गर्न नसक्दा मर्मत गर्न नसकिएको उसले जानकारी दिए । खानेपानी बोर्डलाई पत्राचार गरिएको र खानेपानी, टेलिकम, डिभिजन सडक र निर्माण कम्पनीका प्रतिनिधि बसेर निकास खोजी भइरहेको उसले बताए ।

नारायणगढदेखि गोन्द्राङसम्म छ लेनको सडक विस्तार भइरहेको छ । सो काम इण्डो सगुन निर्माण कम्पनीले गरिरहेको छ । कम्पनीका इन्जिनियर सुनिल ढुङ्गानाले पानी निस्किनुको कारण पहिचान गर्न नसक्दा मर्मत गर्न नसकिएको बताए । उसले भने “कहाँबाट पानी छि-यो, कति सडक भत्काउने, यकिन गर्न सकेका छैनौँ । सडक डिभिजनलाई भनेका छौँ ।”

भरतपुरको सवारी चाप हुने मुख्य क्षेत्रमा सडक भत्किएपछि तत्काल निर्माण गर्न भरतपुर महानगरपालिकाले डिभिजन सडक कार्यालय र निर्माण कम्पनीलाई पटक–पटक आग्रह गरेको छ । महानगर प्रमुख रेनु दाहालले भने “हामीले दसैँ अघि नै तत्काल मर्मत गर्न अनुरोध गरेका छौँ, प्राविधिक कारणले काममा ढिलाइ भएको छ ।”

प्रतिक्रिया दिनुहोस्