९ मंसिर २०८१, आईतवार
मनोरन्जन मुख्‍य समाचार समाज

‘मैले देखेका धामी झाँक्री र बोक्सीका घटनाहरूबाट क्यारेक्टर निकालेको हुँ’

२९ कात्तिक, काठमाडौं । कलाकार माओत्से गुरुङ निर्देशन र अभिनयमा अब्बल छन् । दर्जनौं फिल्ममा अभिनय गरिसकेका माओत्से फिल्म ‘दयारानी’का निर्देशकसमेत हुन् । यिनै माओत्से आगामी मंसिर ७ गतेबाट रिलिज हुने फिल्म ‘अग्निदहन’मा धामीको चरित्रमा दर्शकमाझ आउँदैछन् ।

माओत्सेका अनुसार उनलाई धामीको चरित्र निभाउन सजिलो थिएन । ‘एउटा यस्तो व्यक्ति बन्नु थियो, जसले व्यक्तिलाई होइन, समाजलाई आफ्नो नियन्त्रणमा राख्थ्यो । मैले यो चरित्रका लागि धेरै तयारी पनि गरेको थिइनँ । म गाउँमा जन्मेर हुर्केको मान्छे । धामी झाँक्री र बोक्सीका थुप्रै घटनाहरू देखेको थिएँ । मैले देखेका तिनै धामीबाट क्यारेक्टर निकालेको हुँ’, माओत्से भन्छन् ।

आफूले धामी झाँक्रीले गरेको पुजाआजा र अनुष्ठान बच्चै देखि देखेको हुनाले पनि ‘धामी’ चरित्र निभाउन अनुसन्धान नगरेको खुलाए ।उनले भने,‘ ‘घरमा सामन्य झारफुक मेरो बाबाले पनि गर्नुहुन्थ्यो । त्यसैले चरित्रबारे धेरै अनुसन्धान गरिनँ ।’
ट्रेलरमा धामी बनेका माओत्सेले महिलालाई फलामले डाम्ने, मलमुत्र खुवाउन आदेश दिने काम गरेका छन् । उनी आफू कथाको पात्र मात्र भएर यो काममा उपस्थित भएको बताउँछन् । माओत्सेकै भनाईमा यो काममा उनलाई खासै समस्या भएको रहेनछ ।

माओत्सेले फिल्मी करियरमा होस् वा नाटकमा होस्, सकारात्मक वा नकारात्मक दुवै चरित्र निभाए । जुनसुकै चरित्र निभाउँदा पनि उनलाई आफ्नो ‘इमेज’ बिग्रिएला भन्ने डर छैन । ‘अग्निदहन’मा धामी चरित्र निभाइरहँदा उनले यही कुरालाई मनन गरेका रहेछन् ।

‘म कलाकार हुँ । फिल्म अथवा नाटकमा अभिनय गर्दा म प्रोटोगोनिस या एन्टोगोनिस मात्रै भूमिका गर्छु भनेर कहिल्यै रोज्दिनँ । मेरो भूमिकाले फिल्ममा कस्तो प्रभाव पार्छ, त्यो हेर्छु’, उनी भन्छन् ।

माओत्सेको देखाईमा ‘बोक्सी’को आरोप लागेका महिला प्रति सबै धामी क्रुर हुँदैनन् । ‘सबै धामी क्रुर भएको देखेको छैन । कतिपय धामीले मनोवैज्ञानिक रूपमा ट्रिटमेन्ट गरेको पनि देखेको छु । तर, जो जसले बोक्सीको नाममा महिलालाई दुख दिइरहेका छन्, त्यो साच्चिकै अमानवीय कार्य हो’, माओत्से भन्छन् ।

माओत्सेले आफूलाई ‘अग्निदहन’ निर्देशक घनश्याम लामिछानेले ‘तपाईलाई सुहाउने एउटा रोल छ’ भनेपछि आफूले रोल सुनेर अभिनयका लागि सहमत भएको बताए ।

प्रतिक्रिया दिनुहोस्