६ मंसिर २०८१, बिहीबार
मुख्‍य समाचार समाज साहित्य/ समाचार

ललितपुर महानगरले गर्यो संस्कृतिविद् जोशी र साहित्यकार कायस्थलाई सम्मान

२९ कात्तिक, काठमाडौं । ललितपुर महानगरपालिकाले संस्कृति शिरोमणि हरिराम जोशी र संस्कृतिविद्, अन्वेषक एवम् वरिष्ठ साहित्यकार छत्रबहादुर कायस्थलाई सम्मान गरेको छ ।  साथै नगरपालिकाले उनीहरुका लागि सवारीसाधन, सुरक्षाकर्मी र सञ्चारसाधनको व्यवस्था गर्ने निर्णय समेत गरेको छ ।

महानगरपालिकाले बिहीबार एक विज्ञप्ति जारी गर्दै महानगरको कलासंस्कृति, सम्पदा संरक्षणमा योगदान दिने व्यक्तित्वको कदर गर्दै सम्मान र पुरस्कार गर्दै आइरहेको जनाएको छ ।

सम्मानस्वरुप अस्पताल भर्ना भई स्वास्थ्य उपचार गराउनु परेको अवस्थामा लाग्ने सबै खर्च समेत महानगरपालिकाले व्यहोर्ने निर्णय गरेको छ ।

‘ललितपुर महानगरपालिकाले कलासंस्कृति, सम्पदा संरक्षणमा अनवरत रुपले सक्रिय रहनुहुने व्यक्तित्वको योगदानको कदर गर्दै सम्मान र पुरस्कृत गर्ने गरेको छ । ललितपुर महानगरपालिकाले यसअघि पनि संस्कृतिविद् शताब्दीपुरुष सत्यमोहन जोशीको सम्मान स्वरुप सवारीसाधन, सुरक्षाकर्मी र संचारसाधन उपलब्ध गराएको स्मरण गर्दछु । यसै क्रममा महानगर निवासी संस्कृति शिरोमणि, अनुसन्धानकर्ता एवम् पुरातत्वविद श्री हरिराम जोशी (जन्म मिति वि.सं.१९९२) र संस्कृतिविद्, अन्वेषक एवम् वरिष्ठ साहित्यकार छत्रबहादुर कायस्थ (जन्म मिति वि.सं. १९९९) लाई सम्मान स्वरुप उहाँहरुको दिनचर्यालाई सहज बनाउन सवारीसाधन, सुरक्षाकर्मी र सञ्चारसाधनको व्यवस्था गर्ने निर्णय गरेको छ । साथै, अस्पताल भर्ना भई स्वास्थ्य उपचार गराउनु परेको अवस्थामा लाग्ने सम्पूर्ण खर्च समेत महानगरपालिकाले व्यहोर्ने निर्णय भएको छ,’ महानगरप्रमुख चिरीबाबु महर्जनद्धारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।

संस्कृति शिरोमणि जोशीका पुस्तकहरु राष्ट्रिय र अन्तर्राष्ट्रिय विश्वविद्यालयको पाठ्यपुस्तकको रुपमा समावेश भएका छन् ।

संस्कृतिका विविध विधामा जोशीद्धारा लिखित तीन दर्जन भन्दा धेरै पुस्तक सार्वजनिक छन् । यसैगरी संस्कृतिविद् कायस्थद्धारा लिखित पाँच दर्जनभन्दा बढी पुस्तक प्रकाशित भएकोमा विश्वविद्यालयको पाठ्यपुस्तकको रुपमा समावेश भएको छ ।

प्रतिक्रिया दिनुहोस्