२ मंसिर २०८१, आईतवार
अनौठो संसार मुख्‍य समाचार समाचार समाज स्वास्थ्य

झुसिलकिरा मार्ने ढुसी, जसले रोक्नेछ मानिसमा क्यान्सर

झुसिलकिरा तथा किटपतंगलाई मार्ने एउटा ढुसी मानिसमा विभिन्न खालका क्यान्सरको रोकथाममा उपयोगी सावित हुन सक्नेछ ।

एक नयाँ अध्ययन अनुसार उक्त परजिवी ढुसीबाट निस्किने केमिकलले क्यान्सरलाई निर्मूल पार्नसक्छ । भविष्यमा यो ढुसीबाट क्यान्सरको नयाँ औषधि तयार हुने विश्वास गरिएको छ । नटिंघम विश्वविद्यालयका शोधकर्ताहरुले गरेको यस विषयको शोध रिपोर्ट FEBS Letters जर्नलमा प्रकाशित भएको छ।

शोधकर्ताहरुका अनुसार झुसिलकिरालाई आक्रमण गरी निस्तेज बनाउने तथा मार्ने उक्त ढुसी मानिसका लागि फाइदाजनक हुन सक्दछ । उक्त उपयोगी ढुसीको नाम कर्डिसेप्स मिलिटारिस हो । यो सुन्तला रंगको सुन्दर ढुसी हो ।

यो ढुसीले झुसिलकिरालाई संक्रमित गरेपछि त्यसलाई प्यारालाइज गर्दछ । त्यसपछि झुसिलकिरालाई मार्दछ र त्यसरी मार्नुअघि झुसिलकिराको सरीरबाट सबै आवश्यक पोषक तत्व शोषण गर्दछ । त्यसक्रममा झुसिलकिराको व्यवहारमा परिवर्तन आउँछ र अन्तिममा ऊ मर्दछ । त्यसक्रममा एउटा रसायन निस्किन्छ, जसलाई कर्डिसेपिन भनिन्छ ।

वैज्ञानिकहरुले कर्डिसेपिन रसायनको अध्ययन गरेका थिए । त्यसको जीन एक्सप्रेसन, कोशिका सिग्नलिङ तथा प्रोटिन सश्लेषणको अनुसन्धान गरेका थिए । त्यसक्रममा उक्त केमिकलले के काम गर्दछ र कसरी गर्दछ भन्ने तथ्य पत्ता लाग्यो ।

आरएनए बायोलोजिस्ट कर्नेलिया डे मूरका अनुसार हजारौं जीनहरुको अध्ययनपछि कर्डिसेपिनले के काम गर्दछ भन्ने तथ्य पत्ता लागेको हो । त्यसबाट वैज्ञानिकहरुले कर्डिसेपिन ट्राइफोस्फेट नामको सक्रिय यौगिक तयार पारे ।

उक्त सक्रिय यौगिकले कोशिकाहरुको गतिविधिलाई बढावा दिन्छ र कोशिकालाई धेरै शक्तिशाली र सक्रिय बनाउँछ । यो रसायनले कोशिकाहरुलाई यति तागत दिन्छ कि स्वच्छ कोशिकाहरुले क्यान्सरग्रस्त कोशिकाबाट आउने सिग्नललाई रोकिदिन्छन् । जसका कारणले एक कोशिकाबाट अर्को कोशिकामा क्यान्सर फैलिन पाउँदैन । अर्थात् क्यान्सर कोशिकाहरु बढ्न पाउँदैनन् ।

भविष्यमा बनाउन सकिन्छ क्यान्सरको औषधि

के तथ्य प्रष्ट भएको छ भने कर्डिसेप्स नामक उक्त ढुसीबाट निस्किने रसायन विभिन्न खालका क्यान्सरको रोकथाममा कामयाब हुनेछ । तर, उक्त रसायनले कसरी काम गर्दछ भन्ने कुरा पत्ता लगाउन चाहिं बाँकी नै छ । वैज्ञानिकहरुका अनुसार यो रसायनबाट क्यान्सरको नयाँ औषधि तयार पार्न सकिनेछ । उक्त औषधिले स्वच्छ कोशिकामा निकै कम नोक्सान पूराएर क्यान्सर कोशिकाको फैलावट रोक्नमा सहयोग गर्नेछ ।

स्मरण रहोस् यो झुसिलकिरा ढुसी परम्परागत औषधि तथा स्वास्थ्य परिकारको रुपमा विभिन्न एसियाली मुलुकहरुमा चर्चित छ ।

प्रतिक्रिया दिनुहोस्