सिड्नीमा नेपाल फेस्टिभल, हजारौंको सहभागिता
९ मङ्सिर, सिड्नी । अष्ट्रेलियाको सिड्नीमा भएको नेपाल फेस्टिभल सिड्नी २०२४ मा उत्साहजनक सहभागिता भएको छ । शनिबार डार्लिङ हार्बरको टम्बलङ पार्कमा भएको फेस्टिभलमा नेपाली कलाकारहरुले भरपुर मनोरन्जन समेत दिलाए ।
नेपाली कला–संस्कृति झल्कने प्रदर्शनी र कलाकारहरुको प्रस्तुतीमा आगन्तुकहरुले भरपुर मजा लिएका छन् । करिब २० हजारभन्दा बढी नेपालीले महोत्सवमा सहभागिता जनाएका आयोजकको दाबी छ ।
फेस्टिभल सुरु हुनुअघि नेपाली पहिरन र विविध कला–संस्कृति झल्काउने बाजागाजा र नाचगानसहित सहर परिक्रमा गर्दा विदेशीहरुले चाख दिएर अवलोकन गरेका थिए । फेस्टिभल अघि आयोजित डिनर कार्यक्रममा अष्ट्रेलियामा बसोबास गर्ने प्रतिष्ठित व्यक्तिहरुले सहभागिता जनाएका थिए ।
महोत्सवमा पहिलोपटक प्रिमियर क्रिस मिन्स सहभागी भए । प्रिमियर मिन्ससँगै विपक्षी लिबरल पार्टीका प्रमुख मार्क स्पिकम्यान समेत सहभागी थिए ।
महोत्सवमा नेपाल हाउस मुख्य आकर्षणको केन्द्र बनेको थियो जसमा नेपाली धरहरा, पशुपति मन्दिर, बौद्ध स्तुपा लगायतको प्रतिमा स्थापना गरिएको थियो । कार्यक्रममा अष्ट्रेलियाका नेपाली कलाकारका साथै एक्स ब्यान्ड, आस्था राउत र हेमन्त शर्माले साङ्गीतीक मनोरञ्जन दिएका थिए ।
एनआरएन अष्ट्रेलियाले हरेक दुई वर्षमा आयोजना गर्ने नेपाल फेष्टिभलको सिड्नी संस्करण सबैभन्दा पुरानो हो । नेपाल फेष्टिभलमार्फत नेपालीहरुले अष्ट्रेलियामा आफ्नो उपस्थितिलाई सेलिब्रेट गर्ने गरेका छन् । नेपाल फेष्टिभलको लागि २ लाख ५० हजार डलरभन्दा बढी खर्च हुने अनुमान गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्