१४ मंसिर २०८१, शुक्रबार
गण्डकी प्रदेस समाचार मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार समाज

स्थानीय सरकारले अब रोजगारी सिर्जना गर्नुपर्छ : सिंह

तनहुँ । उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले स्थानीय सरकारले अब रोजगारी सिर्जना गर्नुपर्नेमा जोड दिएका छन् ।

तनहुँको भानु नगरपालिकामा नयाँ शहर आयोजना कार्यालय डुम्रे–भन्सार तनहुँको एकीकृत सरकारी भवनको उद्घाटन गर्दै उपप्रधानमन्त्री सिंहले यस्तो बताएका हुन्।

शिक्षा, स्वास्थ र पूर्वाधार विकाससँगै अब युवाहरूलाई गाउँमै रोजगारी सिर्जना गर्नेतर्फ पनि स्थानीय सरकारले योजनाहरू बनाउनुपर्ने उनको सुझाव थियो ।

उनले एकीकृत सरकारी भवनले सेवा प्रवाह सहज हुने  विश्वास व्यक्त गरे । उपप्रधानमन्त्री सिंहले नगरपालिकाका हरेक गतिविधिमा युवा, महिला,वृद्धवृद्धासहित समाजका सबै तहका व्यक्तिहरूलाई समेट्नुपर्नेमा जोड दिए । तल्लो तहबाटै अनुशासित स्वयंसेवी नागरिक बनाउन सके मात्रै असल समाज बन्ने भएकाले स्थानीय सरकारले त्यसतर्फ पनि ध्यान दिनुपर्ने बताए ।

राजनीतिक स्थायित्व विना विकासले गति लिन नसक्ने भन्दै उनले राजनीति स्थीरताका लागि अहिले संसदका दुई ठुला पार्टी मिलेर सरकार बनाएको बताए । ‘राजनीतिक स्थिरता र स्थायित्व भयो भने मात्रै विकासले गति लिन्छ भन्ने कुरा तपाई हामी सबैलाई महसुस भएको हुनुपर्छ,’उपप्रधानमन्त्री सिंहले भने,‘त्यसैले अहिले संसदका दुई ठुला दल नेपाली कांग्रेस र नेकपा एमाले मिलेर सरकार बनेको छ । राजनीति स्थिरताको जगमा विकास र समृद्धिलाई प्राथमिकताममा राखेर सरकारले काम गरिरहेको छ ।’

भानु नगरपालिकाका प्रमुख आनन्द ढुँगानाले नयाँ शहर आयोजना कार्यालय डुम्रे(भन्सार तनहुँको एकीकृत सरकारी भवनको निर्माणले नागरिकलाई सेवा प्रवाहमा सहज भएको बताए ।

उनले भानु नगरलाई साँस्कृतिक रूपमा ऐतिहासिक नगरका रूपमा विकास गर्ने लक्ष्यका साथ आफूले काम गरिरहेको र त्यसमा शहरी विकास मन्त्रालयको साथ पाउने विश्वास पनि व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्