मानव अधिकार संरक्षणमा सिनेमाको ठूलो भूमिका प्रभावकारी
![](https://www.ratokagaj.com/wp-content/uploads/2024/12/Top-Bahadur-Magar--1296x700.jpg)
२४ मङ्सिर, काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तप बहादुर मगरले मानव अधिकार संरक्षणमा सिनेमाको ठूलो भूमिका रहने बताएका छन् ।
सोमबार काठमाडौंमा आयोजित १२ औं नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२४ को उद्घाटन समारोहमा उनले समाजमा हुने भेदभाव र गलत परम्पराहरुले मानव अधिकार संरक्षणमा समस्या आएको भन्दै यसलाई सिनेमामार्फत उजागर गर्न सकिने बताए ।
उनले भने, ‘हाम्रो समाजमा जुन भेदभाव र गलत परम्पराहरु छन् । त्यसले मानव अधिकार संरक्षण, संवद्र्धन र प्रयोगमा कसरी असर परिरहेको छ र यसलाई सिनेमाको माध्यमबाट कसरी हटाउन सक्छौ भन्ने कुरामा हामी अघि बढि रहेका छौ । मानव अधिकार संरक्षणमा सिनेमाको पनि ठूलो भूमिका रहन्छ ।’
यसको साथै, उनले बाल विवाहलाई कानूनले प्रतिबन्ध लगा पनि समाजमा चलिरहेको भन्दै यसको रोकथामको लागि पनि सिनेमा ठूलो माध्यम बन्न सक्ने बताए ।
उनले भने, ‘बाल विवाहलाई कानूनले प्रतिबन्ध लगाइसकेको छ तरपनि हाम्रो समाजमा चलिरहेको छ । कानून र समाजमा हुने कामहरु मिलेको छैन् । यसलाई पनि हामीले सिनेमाको मार्फत कसरी रोक्न सक्छौ । यसको खराबी के हो, यसको कानूनी व्यवस्था कस्तो छ भनेर देखाउन सक्यौ भने रोकथामका लागि सिनेमा ठूलो माध्यम बन्नसक्छ ।’
यसको साथै, समाजमा रहेका हरेक कुप्रथाहरुलाई हटाउनको लागि पनि सिनेमा एउटा राम्रो माध्यम बन्न भन्दै जुन कुरा बोलेर बुझाउन समय लाग्छ त्यस्तो कुरालाई सिनेमाको मार्फत देखाएर सजिलै बुझाउन सक्ने उनको भनाई छ ।
प्रतिक्रिया दिनुहोस्