चलचित्र ‘कर्मा’को छायांकन सुरु
काठमाडौं । सौरभ चौधरीको निर्देशनमा तयार हुन लागेको चलचित्र ‘कर्मा’को शुभ–मुहुर्तसँगै छायांकन पारम्भ गरिएको छ ।
निर्देशक चौधरीले आफ्नो आगामी एक्सन चलचित्रको छायांकन शुक्रबारदेखि दाङको घोराहीबाट सुरु गरेका हुन् ।
४० दिन दाङ र ६ दिन रुकुममा छायांकन हुने सिनेमाको मुख्य भूमिका निभाइरहेका कलाकार विपिन कार्की, उपासना सिंह ठकुरी, मुकुन भुसाल र दिव्यदेवको सहभागीतामा शुभ–मुहुर्तसँगै छायांकन पारम्भ गरिएको हो ।
यो अभिनेत्री चलचित्रमा उपासना अभिनेता कार्कीको जोडीको रूपमा देखिने छिन् भने मुकुन नेगेटिभ क्यारेक्टरमा देखिने भएका छन् । विपिन र उपासनाले पहिलो पटक चलचित्रमा सहकार्य गर्न लागेका हुन् ।
एक्सन ड्रामा जनरामा निर्माण हुने यस चलचित्रको कथा निर्देशक चौधरी स्वयंले लेखेका छन् । निर्देशक चौधरीका अनुसार यो चलचित्रमा अभिनेता विपीनलाई पहिलोपटक एक्सन अवतारमा देख्न पाइनेछ ।
यसअघि निर्देशक चौधरीले यसअघि ‘अगस्त्यः च्याप्टर १’को निर्देशन गरेका थिए । ‘कर्मा’ उनको तेस्रो निर्देशकीय फिचर सिनेमा हो ।
निर्देशक चौधरीलाई ‘अगस्त्यः च्याप्टर–१’बाट दर्शकहरू र समीक्षकहरूको राम्रो प्रतिक्रिया प्राप्त भएको थियो, जसले गर्दा ‘कर्मा’प्रति पनि उच्च अपेक्षा गरिएको छ । आर्टिस्टिक इनटरटेनमेन्टको प्रस्तुति रहने ‘कर्मा’मा बसन्त लम्सालको लगानी रहनेछ ।
छायाकंन सुरु हुनु अगावै अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार बिक्री गर्न सफल भएको ‘कर्मा’ नयाँ वर्षको छेको पारेर आगामी चैत्रको २९ गते प्रदर्शनमा आउने घोषणा गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्