राजविराज विमानस्थलमा रात्रीकालिन उडान सुरु, बुद्ध एयरको जहाज अवतरण
काठमाडौं । बुद्ध एयरले सप्तरीको राजविराज विमानस्थलमा सोमबारबाट रात्रीकालीन उडान सुरु गरेको छ ।
सोमबार साँझ संचारकर्मीलगायतको टोली बोकेको नाइन एन एएनडब्लु यू–४,१७१ को जहाज राजविराज विमानस्थल अवतरण गरेसँगै काठमाडौंदेखि राजविराजको दुईतर्फी रात्री उडान शुभारम्भ भएको हो । सोमबार क्याप्टेन मनोज केसीले राजविराजमा जहाज अवतरण गरे ।
वुद्ध एयरले रात्रीकालीन उडान राजविराजबाट सुरु गरेसँगै रात्रीकालीन उडान गर्ने विमानस्थलको संख्या १० वटा पुगेको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले कम भिजिबिलिटी भएको अवस्था र रात्रीकालिन समयमा पनि अवतरण गर्ने प्रणालीको विकास गरेसँगै बुद्ध एयरले रात्रीकालिन उडान सुरु गरेको हो ।
बुद्ध एयरले दैनिक दिउँसो एउटा उडान गर्दै आएकोमा पूर्वाधार तयारीसंगै रात्रीकालिन उडानको शुभारम्भ गरेको हो ।
प्राधिकरणले ‘इन्स्ट्रमेन्ट फ्लाईट ल्याण्डिङ्ग सिस्टम’ लागु गरेपछि राजविराज विमानस्थलमा रात्रीकालिन उडान सुरु गर्न उपयुक्त ठानिएको हो । राजविराज विमानस्थलमा २०७६ माघ १८ देखि बुद्ध एयरले दैनिक नियमित उडान गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस्