सङ्घीयता कार्यान्वयनका निम्ति तीनवटै तहबीच सहयोग, समन्वय र सहकार्यमा जोड
![](https://www.ratokagaj.com/wp-content/uploads/2024/12/images-5.jpg)
ललितपुर ९ पुुस । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले संविधानको मर्मअनुसार सङ्घीयता कार्यान्वयन गर्न तीनवटै तहका सरकारबीच सहयोग, समन्वय र सहकार्य हुनुपर्नेमा जोड दिएका छन् ।
सङ्घीय संसद् सचिवालय र गैरसरकारी संस्था फेड्रलिजम एण्ड लोकलाइजेशन सेन्टरद्वारा ‘सङ्घीयता, राष्ट्रियसभा र आगामी कार्यभार’ विषयमा आज यहाँ आयोजित छलफलमा उनले सङ्घीयतालाई सुदृढ बनाउन आर्थिक समृद्धि, सुशासन र सामाजिक न्याय सुनिश्चित हुनुपर्नेमा जोड दिए ।
अध्यक्ष दाहालले भने, “राष्ट्रियसभालाई प्राप्त जिम्मेवारी सक्रियाताका साथ पूरा गर्ने, कमजोरी सच्च्याउँदै उपलब्धिको रक्षा हुनेछ ।”उनले जनताको बलिदानबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रतात्मक शासन प्रणालीलाई सुदृढ तुल्याउन संसद् र तीन तहका सरकार मिलेर काम गर्नुपर्नेमा जोड दिए।
राष्ट्रियसभाका उपाध्यक्ष विमला घिमिरेले लोकतन्त्र र सङ्घीयतालाई सबल बनाउन संविधानले दिएका जिम्मेवारी सबैले समयमै पूरा गर्न आवश्यक छ भने।
नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र का उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सङ्घीयता कार्यान्वयनमा देखिएका कमीकमजोरी सुधार गरी सुशासन गर्ने, राष्ट्रिय एकतालाई सुदृढ तुल्याउने र जनसहभागितामा आधारित समावेशी विकासलाई कार्यान्वयनमा सबैको साझा धारणा आवश्यक भएको बताए ।
नेकपा एकीकृत समाजवादी का नेता वेदुराम भुसालले राष्ट्रियसभाले सङ्घीयता सबलीकरणका लागि विधिको शासन पालना गर्नुपर्नेमा जोड दिए ।
राष्ट्रियसभा सदस्य कृष्णबहादुर रोकायले सङ्घीयता कार्यान्वयन गर्न आवश्यक कानुन शीघ्र निर्माण गर्नुपर्ने बताए ।
सेन्टरका अध्यक्ष खिमलाल देवकोटाले सङ्घीयता कार्यान्वयनसम्बन्धी संस्थाका निर्णय कार्यान्वयन हुनुपर्नेमा जोड दिए ।
राष्ट्रियसभाका पूर्वसदस्य प्रकाश पन्थले जनप्रतिनिधिको पनि प्रतिनिधिमूलक थलोका रुपमा रहेको राष्ट्रियसभा र प्रदेशसभा सङ्घीयताको मेरुदण्ड हो भने ।
सङ्घीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले कुनै पनि शासन प्रणाली आफँैमा असल वा खराब नभई त्यसको नेतृत्व गर्ने व्यक्तिको कार्यशैलीमा त्यो निर्भर रहने बताए।
राष्ट्रियसभा सचिव डा सुरेन्द्र अर्यालले संविधानको मर्मअनुरुप सम्बद्ध सबैले काम गर्नुपर्नेमा जोड दिए ।
प्रतिक्रिया दिनुहोस्