१ फाल्गुन २०८१, बिहीबार
अर्थ जीवनशैली मुख्‍य समाचार समाचार समाज सुदूरपश्चिम

तरकारी बिक्रीबाट दैनिक दुई हजार आम्दानी

११ पुस, अत्तरिया (कैलाली) । जिल्लाको धनगढी उपमहानगरपालिका–६ मटियारीका किसान बिखलु रानाले व्यावसायिक तरकारीखेतीबाट दैनिक रु दुईहजारसम्म आम्दानी गर्दै आएको छ ।

बीस वर्षदेखि व्यावसायिक तरकारीखेती गर्दै आएका उसले अहिले करिब नौ कठ्ठा जग्गामा व्यावसायिक उत्पादन गरिरहेको हो । उसले सबै खर्च कटाएर तरकारीखेतीबाट वार्षिक रु चारदेखि रु पाँच लाखसम्म आम्दानी हुने गरेको जानकारी दिए ।

रानाले भने, तरकारी बिक्रीबाट प्रशस्त आम्दानी भइरहेकाले जीविकोपार्जनमा समस्या छैन । सानोतिनो समस्या पर्दा छरछिमेक र आफन्तलाई सहयोग गर्न पाएको छु, आफूले ऋण लिनु परेको छैन । आठ जनाको परिवारको सबै खर्च बालबच्चाको पढाइलेखाइ यसैबाट चलेको छ । उसले मौसमी, बेमौसमी सबै किसिमका तरकारी लगाउने गरेको बताए ।

रानाका अनुसार बिक्री कम हुँदा दैनिक रु एक हजार पाँच सयसम्म र बढीमा रु दुई हजारसम्म आम्दानी भइरहेको छ । उसले भने, “तरकारीबाट दैनिक रूपमा आम्दानी लिन सकिने भएकाले जीविकोपार्जन र दैनिक खर्च सहजै टरेको छ । स्थानीयस्तरमा कृषि गरे मात्रै पनि मनग्ये आम्दानी गर्न सकिने मेरो अनुभव छ, मेरो मन्यता जग्गा बाँझो राख्नु हुँदैन भन्ने हो । मेहनत गर्न सके तरकारीखेतीबाट मनग्ये आम्दानी लिन सकिने उसको भनाइ छ ।

सोही ठाउँका बन्धु रानाले पनि तरकारीखेतीबाट सहजै जीविकोपार्जन भइरहेको बताए । आठ कठ्ठा जग्गामा ३५ वर्षदेखि व्यावसायिक तरकारीखेती गर्दै आएका बन्धुले सबै खर्च कटाएर वार्षिक रु तीन लाखसम्म आम्दानी हुने गरेको जानकारी दिए ।

उसले भने, “तरकारीखेतीबाट घरखर्च राम्रै चलेको छ, दैनिक खर्चका लागि अरुसँग ऋण माग्नु पर्दैन । दश जनाको परिवारको सबै खर्च यसैबाट भइरहेको छ । दैनिक रु एक हजारदेखि रु एक हजार पाँच सयसम्म तरकारी बिक्री हुन्छ ।

भारतबाट आउने तरकारी सस्तोमा पाइने भएकाले उपभोक्ताले सस्तो मूल्यमा किन्ने भन्दै सोही कारणले बजारीकरणको समस्या रहेको बन्धुले बताए । स्थानीय सरकारले भारतबाट आउने तरकारी रोक्नु पर्छ, यसरी यहाँका स्थानीय मर्कामा परिरहेका छन्”, उसले भने । समयमा मल पाउन सके तरकारीखेती गर्न अझै सहज हुने उसको भनाइ छ ।

पछिल्लो समय मटियारीका अधिकांश किसानले व्यावसायिक तरकारीखेती गर्दै आएका छन् । यहाँका किसानका लागि तरकारीखेती जीविकोपार्जनको राम्रो स्रोत बनेको छ । तरकारीखेतीबाट घरव्यवहार चलाउन सहज भएको किसान बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्