धरानमा कवि शिरोमणिको जन्मजयन्ती
धरान सुनसरी, १५ पुस । कविशिरोमणि लेखनाथ पौडेलको एक सय ४१औँ जन्मजयन्तीका अवसरमा आज धरान उपमहानगरपालिका–१६ स्थित लेखनाथ चोकमा रहेको उनको शालिकमा माल्यार्पण गरिएको छ ।
कविशिरोमणि साहित्य साधना समाजको आयोजनामा भएको कार्यक्रममा कोशी प्रदेशका पूर्वप्रमुख प्राडा गोविन्द सुब्बा तुम्बाहाङले कविशिरोमणि पौडेलको शालिकमा माल्यार्पण गरे ।
नेपाली साहित्यको श्रीवृद्धिमा कवि पौडेल हुकुमी शासनको बेला सामाजिक, राजनीति परिवर्तनको सन्देश दिने कवि रहेको बताउँदै पौडेल जीवनकालमै रथयात्रा गरिएका पहिलो साहित्यकार भएको उनले बताए ।
कवि पौडेलले कविताहरू कालजयी भएको प्राडा गोपाल भण्डारीले बताए । सामाजिक नैतिक मूल्यको सन्दर्भमा उनका कविताहरू अहिले पनि सान्दर्भिक रहेको उल्लेख गर्दै उनले उनका कवितामा मानव जीवनका विविध पक्षहरू समेटिएको बताए ।
आयोजक संस्थाका अध्यक्ष सिद्धिकर्ण शर्माले हरेक वर्ष लेखनाथको सम्झनामा उहाँले गर्नुभएको योगदानको चर्चा गर्दै जन्मजयन्ती मनाइँदै आएको बताए ।
प्रतिक्रिया दिनुहोस्