२० पुष २०८१, शनिबार
प्रदेस समाचार मधेश मुख्‍य समाचार समाचार समाज

वन कार्यालय र लहान नगरपालिका बीच विवाद, वनका कर्मचारी थुनिए

सिरहा । नदीजन्य पदार्थ उत्खनन् र निकासीको लागि आइइ(वातावरणीय प्रभाव मूल्यांकन ) गर्न आवश्यक सिफारिस नदिएको भन्दै व्यवसायीहरुले डिभिजन वन कार्यालय लहान अगाडि ट्रयाक्टर तेर्साएर अवरोध गरेका छन् ।

विहीबार बिहान १० बजेदेखि कार्यालय परिसरमा छेकिएका डिभिजनल वन अधिकृत शैलेन्द्र मिश्रलगायत अन्य कर्मचारीहरु बेलुका ३ बेसम्म बाहिर निस्कन पाएका छैनन् ।

प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा लहानमा हुने कार्यालय प्रमुखहरुको साप्ताहिक बैठक इलाका प्रहरी कार्यालय लहानमा भागलिन वन अधिकृत मिश्र जान पाएनन् । उनलाई ट्रयाक्टर व्यवसायीहरुले कार्यालयबाट बाहिर निस्कनै दिएनन् ।

वन अधिकृत मिश्रले सिरहाका प्रहरी उपरीक्षक रमेश पण्डित र प्रमुख जिल्ला अधिकारी बासुदेव दाहाललाई फोन गरेर आफ्नो कार्यालय अगाडिको अवरोध हटाउन बाराम्वार अनुरोध गर्दै थिए । सशस्त्र प्रहरी लहान र वडा प्रहरी कार्यालय लहानका सुरक्षाकर्मीहरुले अनेक प्रयत्न गरे पनि दिउसो ३ बजेसम्म जिल्ला वन कार्यालय वरपरको जाम हटाउन सकेनन् ।

दर्जनौ ट्रयक्टरले गौडा छेकेको कारण डिभिजनल वन कार्यालय, लहान नगरपालिका , जिल्ला घरेलु उद्योग कार्यालय, इलाका प्रशासन कार्यालय, लहान प्राविधिक स्कूल, भूसंरक्षण कार्यालयलगायत एक दर्जन कार्यालयहरुमा सेवाग्राहीहरु छिर्न पाएनन् । लहान क्याम्पस जाने र आउने विद्यार्थीहरुले पनि वैकल्पिक सडक प्रयोग गर्नुप¥यो ।

डिभिजनल वन कार्यालय लहान र लहान नगरपालिका बीच बलान, सर्रे र खुट्टी खोला ठेक्का लगाउने विषयमा एकमत हुन नसक्दा तनावको स्थिति पैदा भएको छ । दुबै कार्यालयका जनप्रतिनिधि र अधिकृत स्तरका कर्मचारीहरु बीच मनोमालिन्यको स्थिति मात्र सृजना भएको छैन गाली गलौज र आरोप प्रत्यारोप पनि हुन थालेको छ ।

लहान नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जयकान्त  झा,‘भन्छन् हामीले डिभिजनल वन कार्यालयलाई सातवटा पत्र लेखिसक्यौं । जस्तो व्यहोरा खुलाउन भनियो त्यसैगरी लेखिदियौं । वन अधिकृतले अर्घेल्याई गरेर नगरपालिकाको काम रोकेका छन् ।’

‘कानून बमोजिम दिनुपर्ने सिफारिस रोक्न पाइन्छ ?’ झाले प्रतिप्रश्न गरे । उनले भने, ‘काम त प्रदेश मन्त्रालयले गर्ने हो । तर डिभिजनल वन कार्यालयले एउटा पत्र लेखिदिनुपर्ने हो । सकारात्मक वा नकारात्मक जे भएपनि लेखिदिनुस् भनेर मेयरसावले अनुनय विनय गर्नुभयो । मैंले पनि आग्रह गरे । थप केही चाहिए भन्नुस् हामी सेवा गर्छौ पनि भने । प्रमुख जिल्ला अधिकारी र प्रहरी उपरीक्षकलाई पनि भन्न लगायौं । तर पनि सुनुवाई गर्दैनन् । अब उनले कुटाई खान मात्र बाँकी छ । वन अधिकृत मिश्रको हठका कारण सर्रे, खुट्टी र बलान तीनवटै नदी अहिलेसम्म ठेक्कापट्टाको प्रकृयामा जान सकेको छैन । नगरपालिकाको राजस्वको स्रोत नै सुकेको छ ।’

प्रमुख प्रशासकीय अधिकृत झा,‘भन्छन् हामीले नदी ठेक्का लगाउन पाएका छैनौ । उता डिएफओ मिश्रले आफ्ना वनपालेहरु लगाएरप्रति ट्रयाक्टर पाँच सयका दरले नाजायज असुली गरिरहेका छन् । दिनभरी कार्यालयमा बस्दैनन् । कथित फिल्ड घुमेको छु भन्दै असुलीमा जान्छन् ।’

यता डिभिजनल वन अधिकृत  मिश्र भन्छन्, ‘मैले मेरो हातमा हतकडी लगाइ माग्ने स्थिति त सृजना गर्नु भएन । कानूनले नमिल्ने सिफारिस म कसरी दिन सक्छु । जहाँ वन क्षेत्र पर्छ, जहाँबाट नदीजन्य पदार्थ झिक्न मिल्दैन, त्यहाँ त्यहाँ उल्लेख गरेर सिफारिस मागेका छन् । त्यस्तो आइइ गर्न कसरी सिफारिस दिन सकिन्छ र ? नाजायज दबाब दिन ट्रयाक्टर व्यवसायीहरुलाई हाम्रो कार्यालय घेराउ गर्न पठाएका छन् । यो सबै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत झाद्वारा प्रायोजित घेराउ हो,’ मिश्र थप्छन्,‘कानून बमोजिम बाहेक म सिरफारिस दिन सक्दिन । म झुक्दिन ।’

लहान नगरपालिका र डिभिजनल वन कार्यालय बीचको द्वन्द्वका कारण प्रमुख जिल्ला अधिकारी बासुदेव दाहाल र प्रहरी प्रमुख पण्डित पनि किंकर्तव्यविमुख भएका छन् । के गर्ने के नगर्नेको अवस्था सिर्जना भएको छ ।

यता बलान, सर्रे र खुट्टी नदी ठेक्का लाग्न नसक्दा नगरपालिकाको राजस्वमा ह्रास आएको छ । गिट्टी र बालुवा आपूर्ति बन्द हुँदा लहानमा निर्माण कार्यहरु पनि प्रभावित भएको छ । ट्रयाक्टर व्यवसायी विन्देस्वर पासवान भन्छन्, ‘लहानमा करिब दुईसय ट्रयाक्टर र उत्खनन्मा काम गर्ने दुई हजार मजदुरको रोजगारी खोसिएको छ । त्यसकारण डिभिजनल वन कार्यालय घेराउ गरेका छौं । निर्णय नभएसम्म घेराउ हट्ने छैन ।’

प्रतिक्रिया दिनुहोस्