चेक वितरण भएको कुरा प्रमाणित भए राजनीति छाड्छु : मन्त्री खड्का
काठमाडौं । उर्जा तथा जलस्रोतमन्त्री दिपक खड्काले वर्तमान सरकारले राजनीतिक स्थायित्व दिनेदेखि आर्थिक समृद्धि दिने उद्देश्यका साथ ठूला कार्ययोजनाहरु प्रस्तुत गरेको बताएका छन् ।
बिहीबार काठमाडौंमा आयोजित ‘उर्जा विकास मार्गचित्र–२०८१’ विमोचन कार्यक्रममा उनले नीतिगत सुधार, अर्थतन्त्रलाई चलाएमान बनाउने र समृद्ध नेपाल निर्माण गर्ने लक्ष्यका साथ सरकारले काम गरिरहेको बताए ।
उनले भने, ‘यो बलियो सरकारले मुलुकमा प्रगतीशिल कामहरु गर्न सक्नुपर्छ । राजनीतिक स्थायित्व दिनेदेखि आर्थिक समृद्धि पनि दिनुपर्छ भन्ने उद्देश्यका साथ ठूला ठूला कार्ययोजनाहरु हामीले प्रस्तुत गर्दैछौ । अरु मन्त्रालयहरुले पनि नीतिगत सुधार र अर्थतन्त्रलाई चलाएमान बनाउने, स्रोतलाई अधिक्तम परिचालन गर्ने रोजगारी सिर्जना गर्ने र लामो समयदेखि भन्दै आएको समृद्ध नेपाल निर्माण गर्ने लक्ष्यका साथ सरकारले काम गरिरहेको छ ।’
यसका साथै, उनले बोलेर मात्र होइन काम गरेर देखाउनुपर्ने भन्दै प्रतिवेदनमा राखिएका लक्ष्य प्राप्तीका लागि अगाडि बढ्ने बताए ।
उनले सार्वजनिक खरिद ऐनलाई पनि व्यवस्थित गर्नुपर्ने बताए । ‘मलाई जोडेर चेक वितरण भएको कुरा आएको छ । मैले पढिरहेको छु, यो कल्पित कुरा हो र असम्भव हो । यस्ता विषयमा म त्यति आक्रोसित हुन चाहन्न । यसलाई चुनौतिका रुपमा लिएको छु । कसैले प्रमाणित गर्यो भने जीवनभर राजनीति नगर्ने मात्र होइन्, यो प्रमाणित गरेर त्यो चेक मलाई दिनेलाई म त्यो भन्दा पाँच गुना बढि पुरस्कार दिन्छु । यस्तो भ्रमित कुराको प्रचार प्रमाण बिना नगर्नुहोला,’उनले भने ।
प्रतिक्रिया दिनुहोस्