एक हप्ता अगाडी ऊर्जामन्त्री खड्कामाथि मन्त्रालयमै हातपात भएको खुलासा
काठमाडौँ — ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्कामाथि मन्त्रालयभित्रै हातपात र दुर्व्यवहार भएको खुलेको छ । मन्त्री खड्कामाथि मन्त्रालयमा नै गत शुक्रबार हातपात भएको थियो ।
मन्त्री कार्यकक्षबाट बाहिरिँदै गर्दा खड्कामाथि हातपात भएको हो । एक व्यक्तिले दुर्व्यवहार गरेको हो । सामान्य घटना भएको हो । गोरखाको पोखरेल थरका व्यक्ति रहेछन् । मानसिक समस्या भएको व्यक्ति रहेछ, मन्त्री खड्काले घटनाबारे जानकारी दिँदै कान्तिपुरलाई भने, सुरक्षाकर्मीहरूले उक्त व्यक्तिलाई समातेका थिए । मानसिक समस्या भएको व्यक्ति भनेपछि छोड्न भनेको हूँ ।
घटना हो, पुस २६ गते शुक्रबारको । यो घटनाबारे मन्त्री खड्काले कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बिहीबार माघ ३ गते कांग्रेसबाट सरकारमा सहभागी मन्त्रीहरूको बैठकमा भनेपछि सार्वजनिक भएको हो ।
बैठकमा सहभागी एक मन्त्रीका अनुसार खड्काले आफ्नो कुरा राख्ने क्रममा सुरक्षाको विषय उठाएका थिए । मन्त्री खड्काले बैठकमा भनेका थिए, गत शुक्रबार एक व्यक्तिले ममाथि मन्त्रालयमा नै दुर्व्यवहार गरेको थियो । गोरखाका एक पोखरेल थरका व्यक्तिले मन्त्रालयभित्रै ममाथि दुर्व्यवहार गरे ।
त्यसपछि गृहमन्त्री रमेश लेखकले आफूलाई उक्त कुराको जानकारी किन नगराएको भनी खडकालाई प्रश्न गरेका थिए । लेखकले सोधेपछि मन्त्री खड्काले घटना सामान्य भएकाले खबर नगरेकोु भन्ने जवाफ फर्काएका थिए । गृहमन्त्री लेखकले भने आफूमाथि हातपात भएको घटनाको बारेमा मन्त्रीले नै झन्डै हप्तादिनसम्म किन लुकाएको ? भनी प्रश्न गरेको बैठकमा सहभागी अर्का मन्त्रीले बताए ।
त्यसरी आक्रमण गर्ने व्यक्तिको नाम आफूलाई थाहा नभएको बताएका खड्काले ती व्यक्तिले गोरखामा गत निर्वाचनमा उम्मेदवार रहेको र पोखरेल थरको भएको मात्रै आफ्नो स्मरणमा रहेको बताए ।
सिंहदरबार सुरक्षामा खटिएका प्रहरी स्रोतका अनुसार मन्त्री खड्कामाथि हातपात गर्ने व्यक्ति गोरखाको अजिरकोट गाउँपालिका(५, मुच्चोकका हरि पोखरेल हुन् ।
पोखरेल २०७९ को निर्वाचनमा गोरखाबाट गण्डकी प्रदेशसभा सदस्यको उम्मेदवार थिए । निर्वाचन आयोगको विवरणअनुसार उनी गोरखाको निर्वाचन क्षेत्र २९२० बाट प्रदेशसभा निर्वाचनमा स्वतन्त्र उम्मेदवार थिए ।
पोखरेलले नेपाल टेलिभिजनको कार्ड बोकेर सिंहदरबार प्रवेश गरेको देखिएको प्रहरीले जानकारी दिएको छ । उनीबाट प्रहरीले बरामद गरेको कार्डको किसिममा निर्माता( पब्लिक स्पिकर नेपाल लेखिएको छ ।
पोखरेललाई प्रहरीले पक्राउ गरेर सिंहदरबार वृत्तमा बुझाएको थियो । तर, पछि मन्त्री खड्काको आदेशु मा प्रहरीले पोखरेललाई छोडेका थियो । माथिबाट छोड्ने भन्ने आदेश आएको थियो एक दिन थुनेर शनिबार छोड्यौं, वृत्तका एक प्रहरी अधिकारीले भने, ऊर्जा मन्त्रालयबाटै आदेश आएपछि छोडेका हौं ।
प्रहरी स्रोतका अनुसार यो घटनाबारे वृत्तका प्रहरी अधिकारीले माथिल्लो तहमा पनि जानकारी गराएका थिए । तर मन्त्री खड्काले आफूमाथि दुर्व्यवहार गर्ने व्यक्तिलाई कारबाही नगर्न प्रहरीलाई ठाडो आदेश दिएका थिए ।
प्रतिक्रिया दिनुहोस्