४ माघ २०८१, शुक्रबार
कर्णाली खेलकुद मुख्‍य समाचार समाचार समाज

हङकङको अल्ट्रा म्याराथनमा जुम्लाकी राममाया बुढा प्रथम

मुगु । जुम्लाकी राममाया बुढाले हङकङमा आयोजना भएको ५० किलोमिटर अल्ट्रा म्याराथनमा ऐतिहासिक सफलता हात पारेकी छिन् ।
प्रतियोगितामा उनले पहिलो पटक सहभागिता जनाउँदै आफ्नो उत्कृष्ट प्रदर्शन गरेकी छिन् ।
राममायाले सुरुदेखि नै अग्रता लिँदै दौड पूरा गरिन् र आफ्नो पहिलो अन्तर्राष्ट्रिय ट्रेल दौडको कोर्स रेकर्डसमेत तोड्न सफल भइन् ।
एसिया प्यासिफिक एडभेन्चर एथ्लिट्सका अनुसार राममायाको यो उपलब्धि ट्रेल दौडको क्षेत्रमा प्रेरणादायक मानिएको छ ।
जुम्लाको दुर्गम भेगको पातारासीमा जन्मिएकी राममायाको यस सफलताले परिवार र गाउँमा खुशीयाली छाएको छ ।
प्रतियोगिताका क्रममा राममायाले ट्रेल दौडमा आफ्नो अद्वितीय क्षमताको परिचय दिँदै अन्य प्रतिस्पर्धीलाई धेरै पछाडि पार्दै उनको जितसँगै नेपाली खेलकुदमा नयाँ इतिहास लेखिएको कर्णाली स्पोट्र्स क्लबका अध्यक्ष सरोज शाहीले बताए ।
स्थानीयस्तरमा सीमित जस्तो देखिने खेलकुद प्रतिभा अन्तर्राष्ट्रिय मञ्चमा चम्किन सक्छ भन्ने उदाहरण राममायाले प्रस्तुत गरेकी छिन्, शाहीले भने, ‘उनको यो उपलब्धिले अन्य युवा खेलाडीलाई पनि प्रेरित गर्ने अपेक्षा गरिएको छ ।’
राममायाको यो सफलता मात्र एउटा दौड जित्नु नभई नेपाली महिलाहरूको आत्मबल र क्षमताको प्रतीक बनेको अन्तर्राष्ट्रिय धावक हरि रोकायाले बताए ।
‘हङकङको कठिन भूभागमा आयोजित यस अल्ट्रा म्याराथनलाई जित्न राममायाले देखाएको अनुशासन र प्रतिबद्धता सम्पूर्ण नेपालीका लागि गर्वको विषय हो,’उनले भने,‘यो जितसँगै राममायाले अब भविष्यका लागि थप तयारी गर्ने संकेत गरेकी छिन् ।’

प्रतिक्रिया दिनुहोस्