६ माघ २०८१, आईतवार
बागमती मुख्‍य समाचार समाचार समाज

माथिल्लो तामाकोशी फेरि दुई दिन बन्द, कर्जाको ब्याजदर नघट्दा समस्या

६ माघ, काठमाडौं । माथिल्लो तामाकोशी जलविद्युत् आयोजना सरसफाइका लागि दुई दिन बन्द गरिएको छ ।

बाढीपहिरोले क्षति पुर्‍याएपछि झण्डै तीन महिनासम्म बन्द भएको यो जलविद्युत् आयोजना मर्मतपछि ९ पुस बेलुकादेखि आंशिक सञ्चालनमा आएको थियो ।

तर संरचनामा सरसफाइ लगायतका काम गर्न शनिबार बिहान सात बजेदेखि आइतबार बेलुका आठ बजेसम्मका लागि आयोजना बन्द गरिएको अपर तामाकोशी हाइड्रोपावर लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मोहन गौतमले जानकारी दिए ।

‘अहिलेसम्म रन अफ रिभर मोडमा चलाइएको थियो’ गौतमले अनलाइनखबरसँग भने, ‘यो सटडाउन अवधिमा फर्मवर्क, स्काफोल्डिङ पाइप्स निकालेर बाँकी ग्राउन्टिङ र स्टिल प्लेट्स जडान कार्य सम्पन्न गरेर पिकिङ मोडमा पूर्ण क्षमतामा चलाउने योजना छ ।’

गत असोज ११ र १२ गतेको अविरल वर्षाका कारण आएको पहिरोले यो आयोजनामा क्षति पुर्याएको थियो भने चार जनाको ज्यान पनि गएको थियो । क्षतिग्रस्त संरचनाहरुको आंशिक मर्मतसम्भार गरी ८८ दिनपछि पुनः विद्युत् उत्पादन सुरु गरी राष्ट्रिय प्रसारण प्रणालीमा समाहित गरिएको थियो । त्यतिबेला नदीमा उपलब्ध पानीको बहावलाई पूर्णरुपमा प्रयोग गरी दैनिक औसत १२० मेगावाट मात्र विद्युत् उत्पादन गरिएको थियो ।

नेपालमा सञ्चालनमा रहेका जलविद्युत् गृहहरुमध्ये सबैभन्दा ठूलो ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत केन्द्र दोलखाको बिगु गाउँपालिका १ मा पर्दछ ।

आयोजना निर्माणको क्रममा लिइएको कर्जाको ब्याजदर समायोजन नहुँदा समस्यामा परेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत गौतम बताउँछन् ।

‘आयोजना निर्माणको क्रममा लिइएको कर्जाको ब्याजदर बजारमा घटेको ब्याजदर अनुसार घटाउन कम्पनी व्यवस्थापन पक्षले गरेको पहल सम्बोधन नहुँदा समस्या भएको छ,’ गौतमले भने, ‘मनसुनमा ठूलो क्षति भयो, अहिले कमाएर हामी फाइदाको चरणमा छैनौं । त्यसैले नेपालको विद्युत्को मेरुदण्डको रुपमा रहेको अपर तामाकोशीलाई बचाउन राज्यले पनि विशेष पहल गर्नुपर्छ ।’

यो आयोजनाका मुख्य लगानीकर्ता नेपाल विद्युत प्राधिकरण, कर्मचारी सञ्चयकोष, नेपाल टेलिकम, राष्ट्रिय बीमा कम्पनी र नागरिक लगानी कोष हुन् ।

बाढीपहिरोले क्षति गर्दा तीन महिनासम्म बन्द हुँदा र कर्जाको ब्याजदर पनि नघट्दा समस्या परेको गौतमको भनाइ छ ।

तीन महिना बन्द भएकाले विद्युत् प्राधिकरणलाई बिजुली बिक्री गरेर आउने रकम कम्पनीले गुमाएको छ । त्यसबाफत बीमा कम्पनीले निश्चित रकम दिनुपर्छ । तर नियमअनुसार दुई महिनाको दिने गर्दछ । कम्पनीले पाउने सबैभन्दा ठूलो रकम त्यही हुन्छ । त्यसपछि मर्मत सम्भार लगायतमा लाग्ने खर्च बीमा कम्पनीका सर्भेयर र आयोजनाका प्रतिनिधिहरुको सहयोगमा निर्क्योल गरेर भुक्तानी दिने गर्दछ ।

कम्पनीले बीमावापत १ अर्ब ७८ करोड रुपैयाँ प्रारम्भिक दाबी गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्