६ माघ २०८१, आईतवार
अर्थ बागमती मुख्‍य समाचार समाचार समाज

स्वर्णलक्ष्मी सहकारी ठगी : बहस नसकिएपछि पूर्वडीआईजी जोशी प्रहरी हिरासतमा

६ माघ, काठमाडौं । कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणको मुछिएको आरोप लागेका नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशी हिरासतमा रहने भएका छन् ।

आइतबार काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका जोशीको थुनछेक बहस नसकिएकाले उनी हिरासतमै रहेन भएका हुन् । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले अदालतको आदेश अनुसार उनलाई आज परिसरकै हिरासतमा राखिएको बताए । भोलि सोमबार फेरि उनी अदालत उपस्थित हुनेछन् ।

उनीसहितका व्यक्तिविरुद्ध संगठित रुपमा ठगीको अभियोगमा मुद्दा दायर भएको छ । जोशीविरुद्धको पेशी न्यायाधीश ठाकुरप्रसाद खरेलको इजलासमा थियो ।

जोशीविरुद्ध यसअघि कास्की जिल्ला अदालतमा पनि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति सुद्धिकरणको कसुरमा पनि मुद्दा दायर भएको थियो । कास्की अदालतमा ८८ लाख धरौटी बुझाएर रिहा भएका थिए ।

स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा ३९ जनालाई प्रतिवादी बनाउँदै मुद्दा दायर भएको थियो । यो सहकारीले ६९० बचतकर्ताको एक अर्ब १९ करोड ३० लाख ९० हजार ४९३ रुपैयाँ हिनामिना गरेको आरोप छ ।

स्वर्णलक्ष्मी सहकारी ठगीमै पक्राउ परेका सहकारीको लेखा समिति सदस्य सुनिता नेवा चार लाख र सञ्चालक समिति सदस्य कमल लामा तीन लाख धरौटी बुझाएर रिहा भएका थिए ।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने ६० लाख धरौटी बुझाएर रिहा भएका थिए ।

प्रतिक्रिया दिनुहोस्