स्वास्थ्यप्रति सचेत बन्दै आमाहरु
८ माघ, बलेवा (बागलुङ) । यहाँको निसीखोला गाउँपालिका–२ कान्लेचौरका आमा समूहमा ३० देखि ३५ वर्ष उमेर समूहका आमाहरु आबद्ध छन् । उनीहरु गाउँमा बालविवाह न्यूनीकरण, महिलाको स्वास्थ्यलगायत विषयमा नियमित छलफल गर्छन् ।
यस आमा समूहमा आबद्ध अधिकांशले १६ देखि १८ वर्षमा विवाह गरेका हुन् । बालविवाह गरेका उनीहरुले आगामी दिनमा अरूले बालविवाह नगरून् भनेर पनि मासिक रुपमा गाउँमा कसैको उमेर नपुगी विवाह भए/नभएको विषयमा छलफल गर्ने गरेको आमा समूहकी अध्यक्ष शोभा कुँवरले बताए । “हाम्रो गाउँमा आमाहरुको स्वास्थ्य अवस्था कमजोर छ, अधिकांश बालविवाह गरेकाहरु छन्,” कुँवरले भने, “अब कम्तीमा बालविवाह नहोस् भनी २० वर्षअघि गर्भवती नहुने सल्लाह दिने गरेका छौँ ।
आमा समूहले नियमित गर्भ परीक्षणलाई प्राथमिकतामा राखेको छ । पूर्ण खोपयुक्त वडा बनाउन पहल गरेको छ । तर खोप क्लिनिक निसीखोला पारि भएकाले नजिकमा पुल नहुँदा सास्ती भएको गुनासो उनीहरुको छ । समूहकी सदस्य भीमकुमारी खत्रीले भने, “खोप क्लिनिक टाढा भएको बहानामा कतिपयले खोप छुटाउने गरेका छन् ।” वडा नं १ को खाडु भन्ने स्थानमा मात्रै यहाँको खोप क्लिनिक छ ।
क्लिनिक खोला पारि हुँदा बर्सातको समयमा खोला तर्न नसकिने हुँदा आमाहरु गर्भ जाँच गर्न नजाने, जोखिम मोलेरै घरमा बस्ने गरेका छन् । क्लिनिक कान्लेचौरमा पनि स्थापना गर्नुपर्ने उनीहरुको माग छ ।
प्रतिक्रिया दिनुहोस्