८ माघ २०८१, मंगलवार
बागमती मुख्‍य समाचार समाचार समाज

अन्तर्राष्ट्रिय मानव अधिकार सम्मेलनमा ३६ देशका प्रतिनिधि आउने

काठमाडौं । नेपाल बार एसोसिएसनले यहि फागुन ३ गतेदेखि ५ गतेसम्म ‘पाँचौं ल एशिया अन्तर्राष्ट्रिय मानव अधिकार सम्मेलन’को आयोजना गर्ने भएको छ ।
मंगलबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै बारले फागुन ४ गते सम्मेलनको उद्घाटन गर्ने जानकारी गराएका हुन् ।
उक्त सम्मेलनमा एसियाका सदस्य तथा गैर सदस्यहरू समेत गरि ३६ भन्दा बढी देशका तीनसय भन्दा बढि प्रतिनिधिहरु सहभागी हुनेछन् । सम्मेलनमा प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको विशेष आतिथ्यता हुनेछ ।
सम्मेलनको विषयवस्तु ‘मानव अधिकारको सहनशीलताः प्राविधिक, वातावरणीय र सामाजिक चुनौतीहरूको सामना’ रहेको छ जसले समसामयिक मानव अधिकार मुद्दाहरुलाई सम्बोधन गर्ने प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ ।
सम्मेलनमा एक पूर्ण सत्र र मानव अधिकार, वातावरणीय न्याय र आदिवासी जनजाति र समुदायका अधिकारहरु समेत गरि जम्मा तीन ट्र्याकहरूमा १२ वटा विषयगत सत्रहरू हुनेछन् ।
ल एशियाका अध्यक्ष वरिष्ठ अधिवक्ता श्याम दिवानले कार्यक्रममा आफ्नो उत्साह व्यक्त गर्दै नेपाल बार एसोसिएसन र यसको ऊर्जावान नेतृत्वले यस सम्मेलनको लागि मानव अधिकार, वातावरणीय न्याय र आदिवासी समुदायहरूको अधिकारका विषयहरू समेटिएको एक समृद्ध एजेण्डा तयार गरेको बताए ।
उनले भने, ‘हामी विश्वभरका वकिलहरूको उपस्थितिले समृद्ध हुने यो सम्मेलन नेपाल बार एसोसिएसनको समर्थनमा यो लक्षलाई अझ अघि बढाउनेमा विश्वस्त छौं । ल एशिया र नेपालको सम्बन्ध धेरै गहिरी छाल एशियाको उद्घाटन सम्मेलन १९६६ मा हुँदा नेपाल बार एसोसिएसनका प्रतिनिधिहरूले सहभागिता जनाएका थिए, जसबाट लामो समयसम्मको सम्बन्धको सुरुवात भएको थियो । नेपालको न्यायपालिका र स्वतन्त्र बारले मानव अधिकार, वातावरण, असल शासन र सार्वजनिक कानुनका क्षेत्रमा पथब्रेकिङ निर्णयहरू जारी राखेको छ । नेपाल बार एसोसिएसन र यसको ऊर्जावान नेतृत्वले यस सम्मेलनको लागि मानव अधिकार, वातावरणीय न्याय र आदिवासी समुदायहरूको अधिकारका विषयहरू समेटिएको एक समृद्ध अजेण्डा तयार गरेको छ । बलियो स्थानीय र अन्तर्राष्ट्रिय विशेषज्ञतासहितको विविध दायरा बोकेको वक्ताहरूको उपस्थितिले नेपालभरका कानुन व्यवसायीहरूलाई निस्सन्देह आकर्षित गर्नेछ ।’
त्यस्तै, नेपाल बार एसोसिएसनका अध्यक्ष वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले सम्मेलन संवाद र सहकार्यको लागि एक महत्वपूर्ण मञ्च भएको भन्दै यसले समयका ज्वलन्त मानव अधिकार चुनौतीहरूलाई सामना गर्न सशक्त बनाउने बताए ।
‘सम्मेलन संवाद र सहकार्यको लागि एक महत्वपूर्ण मञ्च हो, जसले हामीलाई हाम्रो समयका ज्वलन्त मानव अधिकार चुनौतीहरूलाई सामना गर्न सशक्त बनाउँछ । हामी यस महत्वपूर्ण कार्यक्रमको आयोजना गर्न पाउँदा सम्मानित महसुस गरेकाछौं । विश्वभरका न्यायपालिका, कानून व्यवसायी, मानवाधिकारकर्मीहरुको सहभागितामा नेपालमा हुने यस अन्तराष्ट्रिय सम्मेलनले नेपालको मानवाधिकार संरक्षण र प्रबर्धनमा महत्वपूर्ण योगदान पुग्ने विश्वास हामीले लिएकाछौं,उनले भने ।
सम्मेलनको सुरुवात फेब्रुअरी १५ को साँझमा सबै प्रतिनिधिहरूका लागि स्वागत डिनरबाट हुनेछ र राष्ट्रपतिले फेब्रुअरी १६ मा सम्मेलनको औपचारिक उद्घाटन गर्ने छन् । फेब्रुअरी १६ र १७ मा एक पूर्ण सत्र र १४ वटा सत्रहरू हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्