आमा समूहलाई नौमती बाजा बजाउन भ्याइनभ्याइ
९ माघ, दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं ४ स्थित जनचेतना आमा समूहको नौमती बाजा दाङमा मात्रै होइन, आजभोलि बुटवलसम्म पनि माग हुने गर्दछ ।
विवाह, व्रतबन्ध, पूजाआजाका धेरैजसो कार्यक्रममा आमा समूहको गाजाबाजाको टोली पुग्न थालेका छन् । गएको मङ्सिर महिनामा मात्रै ३० भन्दा बढी यस्ता कार्यक्रममा पुगेर बाजा बजाएको अध्यक्ष कस्तुरा खड्काले बताए ।
पुसमा पनि राजनीतिक दलका कार्यक्रम र अन्य सार्वजनिक कार्यक्रममा बाजाको माग भएको उसले बताए । “पहिले–पहिले गाह्रो थियो, अहिले त ठाउँठाउँबाट हाम्रो माग भइरहेको छ । आम्दानी पनि ठीकै भएको छ ।”
एउटा कार्यक्रमको रु आठ हजारदेखि २५ हजारसम्म लिने गरेको उनले जानकारी दिए । कति समयसम्म बजाउने हो, त्यसका आधारमा भाडा लिने गरेको उनको भनाइ छ । पछिल्लो समय यस्ता बाजा लोप हुन थालेपछि आफूहरुले बाजाको संरक्षण पनि हुने, रोजगारी पनि हुने सोचेर यस पेसामा लागेको पनि अध्यक्ष खड्काले बताए ।
पहिले गाउँमा विवाह, व्रतबन्ध हुँदा नौमती बाजा बज्थे”, उनले भने, “तर, पछिल्लो समय बज्न छोडे, त्यसैले हामीले यसलाई संरक्षण गर्नका लागि यो काम थालेका हौँ । समूहले २०७९ सालको तिहारमा भैलो खेलेर सङ्कलन भएको रु एक लाख ४० हजारले वाद्य सामग्री खरिद गरेको हो । यस समूहमा ब्राह्मण, मगर, क्षेत्री समुदायका २५ जनाभन्दा बढी महिला आबद्ध हुनुहुन्छ ।
पञ्चेबाजा संरक्षणलाई दिगो बनाउन पनि अब आमा समूहको एउटा भवन आवश्यक परेको अध्यक्ष खड्काले बताए । भवन निर्माणका लागि सरकारबाट सहयोगको अपेक्षा गर्दै माग गरिरहेका छौँ, उनले भने । पञ्चेबाजा बजाउने मात्रै नभई उक्त समूहले सामाजिक कार्य पनि गर्दै आएको छ । गाउँमा कसैको झैझगडा भएमा त्यो पनि मिलाउने गरेको अध्यक्ष खड्काको भनाइ छ ।
गाउँमा झगडा भएमा मिलाइदिनु प¥यो भन्दै खासगरी दिदीबहिनीहरु आउँछन्”, उनले भने, “त्यस्ता झैझगडा पनि मिलाउने गरेका छौँ ।” घरहरुमा रङरोगन गर्ने, विवाहमा खाना खुवाउनेजस्ता कार्य पनि यस आमा समूहले गर्दै आएको छ । सधैँ चुलोचौकोमा सीमित हुने महिला पनि सामाजिक रुपमा सशक्त छन् भन्ने सन्देश दिन आफूहरुले यो कार्य गरेको उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्