मन्थली नगर अस्पतालको नयाँ भवन निर्माण कार्य सम्पन्न
रामेछाप । मन्थली नगर अस्पतालको नयाँ भवन निर्माण कार्य सम्पन्न भएको छ ।
नयाँ भवन निर्माण कार्य सम्पन्न भएसँगै नवनिर्मित भवन नगरपालिकालाई हस्तान्तरण गरिएको छ ।
भारत सरकारको आर्थिक सहयोगमा निर्मित भवन सहरी तथा भवन निर्माण आयोजना मन्थलीले नगरपालिकालाई हस्तान्तरण गरेको हो ।
कार्यालय प्रमुख सुमन सालिकेले मन्थली नगरपालिका प्रमुख प्रशासकीय अधिकृत देवर्षि सापकोटा, अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. केशवसिंह धामी र निर्माण व्यवसायी सजन श्रेष्ठको रोहवरमा मन्थली नगरपालिका प्रमुख लव श्रेष्ठलाई भवन हस्तान्तरण गरेका हुन् ।
दुई तले सो भवनमा १५ शैय्याको अस्पताल सञ्चालन हुनेछ । अत्याधुनिक र सुविधा सम्पन्न भवनमा बिरामी र बिरामी कुरुवाका लागि आवश्यक सबै सेवा उपलब्ध हुने अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.केशवसिंह धामीले जानकारी दिए । अस्पतालमा अन्य सुविधाका साथै दुईवटा सुविधा सम्पन्न क्याबिन रुमको पनि छन् ।
भारत सरकारको आर्थिक सहयोगमा २०७८ जेठ ३० गते सो भवन निर्माणको सम्झौता भएको थियो । भवन निर्माणको काम २०८१ मंसिर ३० गते सम्पन्न गर्नुपर्ने थियो । भ्याट सहित कूल १० करोड १३ लाख रुपैयाँको लागतमा निर्माण सम्झौता भएको सो भवन निर्माणको जिम्मा गाल्वा लाल शुभ मेहेन्दो जेभीले लिएको थियो ।
जिल्ला सदरमुकाममा रहेको एक मात्र सरकारी अस्पताल भएकोले यो अस्पतालमा बिरामीको निक्कै चाप रहेको छ । अहिले साँघुरो भवनमा उपचार र जस्ताको टहरोमा बेड राखे अस्पतालले सेवा प्रवाह गरिरहेको छ । जसले गर्दा स्वास्थ्यकर्मी र बिरामी दुवैले समस्या झेल्दै आएका थिए ।
नयाँ भवन बनेसँगै सेवा प्रवाह सहज हुने अस्पताल व्यवस्थापन समितिका उपाध्यक्ष रामबाबु घिमिरे बताउँछन् । यसले स्वास्थ्यकर्मी र बिरामी दुवैलाई सेवा दिन र लिन सहज भएको उनले बताए ।
मन्थली नगरपालिका प्रमुख लब श्रेष्ठले अहिले नगरपालिकाले सञ्चालन गरिहरेको अस्पताललाई प्रदेश स्तरको अस्पताल बनाउन पहल भइरहेको जानकारी दिए ।
प्रदेश सरकारको नीति तथा कार्यक्रममा मन्थली अस्पताललाई प्रदेश अस्पताल बनाउने घोषणा भइसकेको बताउँदै श्रेष्ठले नयाँ भवन बनेकोले त्यसको आवश्यक व्यवस्थापन गर्न सहज हुने बताए ।
प्रतिक्रिया दिनुहोस्