थारु भाषालाई बाइपास गरेपछि प्रदेशसभा बैठक स्थगित, सत्तारुढ सांसदहरुकै विरोध
जनकपुरधाम । मधेश प्रदेशको कामकाजीको भाषा विधेयक २०८१ हचुवाको भरमा ल्याएको भन्दै प्रदेशसभा बैठकमा सत्तारुढ दलकै सांसदहरुले समेत विरोध गरेपछि सभामुखले बैठक स्थगित गर्नु परेको छ ।
सभामुख रामचन्द्र मण्डलले बैठक सुरु गरेलगत्तै साँसदहरु भाषा सम्बन्धी विधेयक फिर्ता लिनुपर्ने माग गरे । सत्तारुढ नेकपा एमाले, जनमत पार्टी र कांग्रेसका साँसदहरु नै भाषा सम्बन्धी विधेयक त्रुटीपूर्ण रहेको बताएका छन् ।
सत्तारुढ दलहरु र प्रतिपक्षी दल जसपा नेपाल र नेकपा माओवादी केन्द्रका साँसदहरुले उक्त विधेयक फिर्ता नलिए सदन चल्न नदिने चेतावनी दिए ।
सभामुख मण्डलले विधेयक पेश भइसकेपछि संशोधन प्रस्ताव राखेर सच्याउन सकिने बताएका थिए । तर पछि उनले मुख्यमन्त्रीले पनि विधेयक फिर्ता लिने मनशायमा रहेको र प्रक्रिया मिलाएर फिर्ता लिने आश्वासन दिए ।
सभामुख मण्डलको सदन सञ्चालन गर्न दिने आग्रह सांसदहरु अस्वीकार गरेपछि उनले १० मिनेटका लागि बैठक स्थगित गरेका छन् ।
यसअघि विधेयकका सम्बन्धमा थारुसहितका मधेशमा बोलिने थारु, मधेशी र उर्दुसहितका भाषा नसमेटिएको भन्दै सांसदहरु प्रदेशसभामा विरोध जनाएका थिए ।
सभामुख रामचन्द्र मण्डलले बैठकको कारबाही अगाडि बढाउनै लाग्दा सत्तारुढ नेकपा एमालेका साँसद राजेन्द्र चौधरीले थारु भाषालाई नसमेटिएकोमा आपत्ति जनाए । उनले थारु भाषालाई नसमेटिएको विधेयक फिर्ता नलिएसम्म सदन अवरुद्ध रहने घोषणा समेत गरे ।
उनले भने, ‘मालिकलाई खुशी पार्न ०.५ प्रतिशत बोलिने हिन्दी र अंग्रजी भाषा राखियो । तर ५ प्रतिशत नागरिक बोल्ने थारु भाषा, जो हजारौं वर्षदेखि बोल्ने गर्छन् । त्यो भाषा समेटिएन । यसमा मेरो घोर आपत्ति छ ।’
प्रतिक्रिया दिनुहोस्