चितवन बारमा ५० वर्षपछि महिला अध्यक्ष चयन
चितवन, १३ माघ । चितवन जिल्ला अदालत बार एशोसिएसनमा पहिलो पटक महिला अध्यक्ष चयन भएका छन् । चितवन बारको सदस्यहरूमध्ये पनि पहिलो महिला सदस्य बनेमी फूलमाया रानाभाट यस पटक अध्यक्ष पदमा निर्वाचित भएकी हुन् ।
शनिबार सम्पन्न अधिवेशनमा उनले आफ्ना निकटतम प्रतिस्पर्धी नुनराज सिलवाललाई पराजित गर्दै निर्वाचित भएका हुन् । उनले ८१ मत प्राप्त गर्दा सिलवालले ७८ मत प्राप्त गरे । रानाभाट लोकतन्त्रवादी कानुन व्यवसायी सङ्घबाट निर्वाचित भएकी हुन्।
उपाध्यक्षमा सीताराम अधिकारी विजयी भएकी छन् । उनले ९१ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी सरिता सापकोटाले ६६ मत प्राप्त गरे । सचिवमा कुलचन्द्र खनाल ८० मतका साथ विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी बलराम पौडेलले ७० मत प्राप्त गरे । सहसचिवमा पवित्रा सुवेदी निर्विरोध चयन छन् ।
कोषाध्यक्षमा दिपकराज तिमिल्सिना निर्वाचित भएका छन् । तिमिल्सिनाले ८१ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी सपी मियाँले ७५ मत प्राप्त गरेका छन् । महिला सदस्यमा प्रियङ्का थापा निर्विरोध निर्वाचित भएकी हुन्।
खुल्ला सदस्यतर्फ शैखरनाथ पोखरेल ७५, किरण गुरुङ ८४, सुरेन्द्रराज सुवेदी ७६, शम्भु बर्तौला ७७, रामकुमार प्याकुरेल ८१, अजयकुमार तामाङ ८१ र केदारराज पन्त ७६ मतका साथ विजयी भएका निर्वाचन समितिका संयोजक जगन्नाथ भण्डारीले जानकारी दिए।
‘एक विद्यालय एक ट्राफिक शिक्षक’
दुर्घटना न्यूनीकरण गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले ‘एक विद्यालय एक ट्राफिक शिक्षक’ अभियान सञ्चालन गरेको छ । भरतपुर महानगरपालिकाबाट सुरु भएको यो अभियान जिल्लाभर सञ्चालन गरिने जनाइएको छ ।
कार्यालय प्रमुख प्रहरी निरीक्षक गायत्रीराज शर्माका अनुसार भरतपुर महानगरका एक सय ९८ विद्यालयका एक/एक जना शिक्षकलाई ट्राफिक व्यवस्थापनसम्बन्धी तालिम दिइएको छ । बाँकी छ पालिकामा क्रमशः तालिम दिइने उल्लेख गर्दै तालिम पश्चात् शिक्षकलाई आवश्यक अडियो, भिडियो, फोटोलगायत सामग्रीसमेत उपलब्ध गराइएको उनले बताए ।
उनले भने, “तालिम लिने सबै शिक्षकले आफ्नो विद्यालयका विद्यार्थी, शिक्षक कर्मचारीलाई ट्राफिक नियमसम्बन्धी तालिम दिने छन् ।” यसबाट सबै विद्यार्थीले ट्राफिक नियमबारे जानकारी पाउनेछन् भने उनीहरूले अभिभावकलाईसमेत यो शिक्षा दिन सक्नेछन् ।
जिल्लामा पाँच सय आठ विद्यालय छन् । साना कक्षाका विद्यार्थी बाहेक एक लाखभन्दा बढीले यो तालिमबाट लाभ लिने प्रमुख प्रहरी निरीक्षक शर्माले जानकारी दिए । ट्राफिक जनचेतनाका बारेमा ज्ञान नहुँदा दिनहुँ दुर्घटना बढेको भन्दै कार्यालयले यो अभियान सञ्चालन गरेको उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्