अमर सहिदहरुप्रति श्रद्धाञ्जली अर्पण
काठमाडौँ, १५ माघ । सहिद सप्ताहअन्तर्गत सहिद गङ्गालाल श्रेष्ठ र दशरथ चन्दप्रति आज भावपूर्ण श्रद्धाञ्जली अर्पण गरिएको छ ।
उनीहरुले अमरत्व प्राप्त गरेको शोभाभगवतीमा काठमाडौँ महानगरपालिकाले श्रद्धाञ्जली सभा आयोजना गरेको थियो । सभामा श्रेष्ठ र चन्दको सालिकमा पुष्पगुच्छा चढाएर श्रद्धाञ्जली अर्पण गरिएको हो । तत्कालीन जहानियाँ राणा शासनविरुद्ध विभिन्न राजनीतिक गतिविधि सञ्चालन गरेको अभियोगमा विसं १९९७ माघ १५ गते सोही स्थानमा श्रेष्ठ र चन्दलाई मृत्युदण्ड दिइएको थियो ।
काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोलले सहिदले देखाएको निष्ठा र त्यागको आदर्श अनुकरणीय रहेकाले त्यसलाई सबैले अवलम्बन गर्नुपर्ने बताए ।
काठमाडौँ महानगरपालिका–१५ का वडाध्यक्ष ईश्वरमान डङ्गोलले मुलुकमा प्रजातान्त्रिक पद्धति विकास गर्न सहिदको त्याग नयाँपुस्ताका लागि प्रेरणादायी भएको बताउँदै जनतालाई सुखी तथा समृद्ध बनाउन सकेमा मात्र सहिदको सपना पूरा हुने बताए ।
काठमाडौँ महानगरपालिका–१६ का वडाध्यक्ष रोजिना श्रेष्ठले देशमा जनताका अधिकारलाई स्थापित गरी मुलुकलाई लोकतान्त्रिक शासन प्रणालीबाट सञ्चालन गर्न सकेमा सहिदको आत्माले शान्ति पाउने विचार व्यक्त गरे ।
सो अवसरमा महानगरपालिकाका विभिन्न कर्मचारी, स्थानीयवासी, समाजसेवी, शिक्षाविद्लगायतको सहभागिता थियो । हरेक वर्ष माघ १० देखि १६ गतेसम्म सहिद सप्ताह मनाउने गरिन्छ ।
प्रतिक्रिया दिनुहोस्