१६ माघ २०८१, बुधबार
मधेश मुख्‍य समाचार समाचार समाज सूचना प्रविधि

मधेशको समृद्धि: चुरे संरक्षणमा सबैको चासो

१५ माघ, महोत्तरी । मधेशको समृद्धिका लागि चुरे संरक्षणको अपरिहार्यता भएको विज्ञहरुले औँल्याएको छ ।

विशिष्टीकृत अनुसन्धान केन्द्र मधेश प्रदेशले बर्दिबासमा आयोजना गरेको नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठानको कार्यसूचीअनुसारको दुईदिने ‘चुरे संरक्षण र विकाससम्बन्धी प्रशिक्षण’ कार्यक्रममा चुरे तथा जलाधारविज्ञहरुले चुरेसँग मधेशको आम जीवन पद्धति नै गाँसिएको हुँदा यसको संरक्षणमा सर्वपक्षीय चासोको आवश्यकता विज्ञले औँल्याएको हो ।

कार्यक्रमको पहिलो दिन सोमबारको सत्रमा मधेश प्रदेशका नीति तथा योजना आयोगका उपाध्यक्ष डा सोहनप्रसाद साहले ऊर्जा, खानेपानी, वातावरण र सिँचाइसहितका मधेशका जनताको आम जीवनसँग जोडिएका विषय चुरेसँग अन्योन्यास्रित हुँदा यसको संरक्षण पहिलो प्राथमिकता पर्नुपर्ने स्पष्ट पारे । यसका लागि व्यक्ति–व्यक्तिमा चुरे चासो जगाउन आवश्यक रहेको डा साहले बताए ।

यसैगरी, आज सम्पन्न दुईदिने सो प्रशिक्षण कार्यक्रममा विज्ञ डा नागेन्द्रप्रसाद यादवले चुरे संरक्षणको मुद्दालाई मजबुती साथ उठाउन पहिले समस्याको पहिचान स्पष्ट रुपमा गरिन आवश्यक रहेको औँल्याए । चुरेका समस्या दीर्घकालीन समाधान गर्न तीनै तहका सरकार र सम्बद्ध सरोकारवालाले योजनाबद्ध कार्यक्रम बनाएर कार्यान्वयनमा जानुपर्ने डा यादवको सल्लाह छ । चुरे क्षेत्र प्राकृतिक सम्पदाको भण्डार रहेको हुँदा मानव हितमा यिनको उपयोगको स्पष्ट नीति बन्नुपर्ने र सो अनुरुप कार्यान्वयन हुनुपर्नेमा डा यादवको जोड छ ।

कार्यक्रममा चुरे तथा जलवायुविज्ञ डा विनोद भट्टले ‘चुरे संरक्षणः कसको चासो, कसको जिम्मेवारी’ विषय केन्द्रित कार्यपत्र नै प्रस्तुत गरी छलफल चलाए । विश्वव्यापी जलवायु परिवर्तनको असरले चुरे वन तथा जलाधार क्षेत्रमा पारेको प्रतिकूल प्रभाव न्यूनीकरण गर्न चुरे संरक्षण र व्यवस्थापनका क्षेत्रमा स्थानीयस्तरमा भएका असल सिकाइका अभ्यासबारे चुरे विज्ञ नागदेव यादवले जानकारीमूलक कार्यपत्र प्रस्तुत गरे । यिनमा चुरे शृङ्खलामा भएका खोल्सी नियन्त्रण, पानी पुनर्भरणका पोखरी निर्माण, पहिरो नियन्त्रण र वृक्षरोपणसहितका गतिविधिबारे उल्लेख गरिएको छ ।

विज्ञहरुले मधेशमा चुरे संरक्षण विषय प्रायोगिक विज्ञानमा आधारित हुनपर्नेमा जोड दिएका छन् । कार्यक्रममा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नाष्ट) का सचिव डा रवीन्द्रप्रसाद ढकालले प्रतिष्ठान स्थापनाकालयताका ४४ वर्षमा हासिल गरेका उपलब्धि सोझै जनसम्बन्धित बनेका उल्लेख गरे । यिनमा ब्रिकेट, सौर्य ऊर्जा, इमेलको प्रयोग, इकोसिस्टम र खाद्यवस्तुको परीक्षण (विकिरण परीक्षण) र मिचाहा वनस्पति व्यवस्थापन मुख्य काम भएका उसले बताए ।

दुईदिने सो प्रशिक्षण कार्यक्रममा ‘चुरे संरक्षण नीति, अवस्था, सवाल र समाधानका उपाय’ विषयक कार्यपत्र चुरेविज्ञ डा नागेन्द्रप्रसाद यादवले प्रस्तुत गरे । दुईदिने प्रशिक्षण कार्यक्रम विशिष्टीकृत अनुसन्धान केन्द्र मधेश प्रदेशको व्यवस्थापन समितिका अध्यक्ष प्राडा पारसनाथ यादवको अध्यक्षतामा सम्पन्न भएको हो ।

प्रशिक्षणका सहभागीलाई चुरे संरक्षणका असल अभ्यास भएका केही ठाउँको अवलोकन गराइएको छ । यिनमा बर्दिबास–१ को पानीखोल्सी व्यवस्थापन र गौशाला–८ कुष्माढीको बगरखेतीको अवलोकन सहभागीले गरेका छन् । प्रशिक्षणमा मधेशका आठै जिल्लाका डिभिजन वन कार्यालय र प्रदेशका चारवटा भू तथा जलाधार व्यवस्थापन कार्यालयका प्रमुख, विभिन्न जिल्लाका सिँचाइ कुलो संरक्षण समिति र सामुदायिक वन उपभोक्ता समितिका पदाधिकारीसहित ५० जनाको सहभागिता रहेको आयोजक विशिष्टीकृत अनुसन्धान केन्द्र मधेश प्रदेशले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्