नेपाल चिनाउने कार्यक्रममा राजदूत अनुपस्थित भएको गुनासो
दक्षिण कोरिया । गैरआवासीय नेपाली संघ एनआरएनए दक्षिण कोरियाको ब्यानरमा जनवरी २७ मा नेपालको प्रवर्द्धन गर्ने कार्यक्रम राखियो । कोरियाली नयाँ वर्षको उपलक्ष्यमा आयोजना गरिएको कार्यक्रमको नारा नै ‘बुद्ध आज बर्न इन नेपाल’ थियो । सोही कार्यक्रममा दक्षिण कोरियाका लागि नेपाली राजदूत शिवमाया तुम्बाहाम्फेलाई निमन्त्रणा पनि गरिएको थियो । तर, उनी अनुपस्थित भएपछि आयोजक असन्तुष्ट बनेका छन् ।
दक्षिण कोरियामा समानान्तर रुपमा दुई वटा एनआरएनए रहेको छ । एउटा बिनोद कुँवर पक्षीय एनआरएनए रहेको छ भने अर्को बद्री केसी पक्षीय एनआरएनए रहेको छ ।
कार्यक्रम आयोजना गरेको थियो, विनोद कुँवर पक्षीय एनआरएनएले । सोही कार्यक्रममा आउने भनेर पनि अन्तिम समयमा राजदूत नआएको सो पक्षका अध्यक्ष विपिन कुमार गुरुङले गुनासो गरे ।
उनका अनुसार कोरियाली नयाँ वर्ष सलनाल को अवसरमा आयोजित उक्त कार्यक्रमको उद्देश्य नै कोरियाली समुदायलाई बुद्ध नेपालमै जन्मिएको हो भन्ने ऐतिहासिक तथ्यबारे सचेत गराउनु थियो । सोहीअनुसार गुरुङसहित महासचिव प्रशान्त राज बानियाँ र सल्लाहकार सानु चन्दसहितको टोली राजदूतलाई निमन्त्रणा दिन राजदूतावासमै पुगेका थियो । भेटमा राजदूतले कार्यक्रममा उपस्थित हुने आश्वासन दिए पनि अन्ततः अनुपस्थित रहेको उनको भनाइ छ ।
‘राजदूतजस्तो जिम्मेवार व्यक्तिले यस्तो महत्त्वपूर्ण कार्यक्रममा चासो नदेखाउनु अत्यन्त दुःखद हो’, अध्यक्ष गुरुङले टिप्पणी गरे ।
गुरुङका अनुसार कोरियाली समाजमा अझै पनि “बुद्ध भारतमा जन्मिएको हो” भन्ने गलत धारणा छ । सो भ्रम चिर्न र “बुद्ध नेपालमै जन्मिएका हुन्” भन्ने ऐतिहासिक सत्यलाई अन्तर्राष्ट्रिय स्तरमा प्रचार गर्न यो अभियान सुरु गरिएको उनको भनाइ छ ।
सचिव नरेश शर्माले अभियान कोरियाली समाजलाई बुद्धबारे सही जानकारी गराउनकै लागि भएपनि यस्तो महत्त्वपूर्ण प्रयासमा राजदूतको अनुपस्थितिले आफूहरूलाई निराश बनाएको बताए ।
कार्यक्रममा कोरियामा रहेका विभिन्न नेपाली संघ संस्था, राजनीतिक दल, पत्रकार महासंघ, र नेपाली समुदायको भने उल्लेखनीय सहभागिता थियो । जनप्रगतिशील मञ्च, जनसम्पर्क मञ्च लगायतले पनि यस्तो कार्यक्रममा सरकारी प्रतिनिधि उपस्थित नहुनुले राम्रो सन्देश नभएको बताएको अध्यक्ष गुरुङको भनाइ छ ।
राजदूत तुम्बाहाङ्फेलाई कार्यक्रममा सहभागी नहुनुको कारणबारे बुझ्न सम्पर्क गर्दा उनी सम्पर्कमा आइनन् । तर, दूतावास निकट स्रोतका अनुसार कोरियामा एनआरएनए दुई वटा भएको र गुरुङ नेतृत्वको एनआरएनए समानान्तर कमिटी भएको बुझाइका साथ केही अभियन्ताहरूको सल्लाहमा अनुपस्थित भएको बताएको छ । एनआरएनए केन्द्रमा भएको विवादको असर दक्षिण कोरियामा पनि रहेको छ । सोहीअनुसार दुई वटा एनआरएनएले छुट्टाछुट्टै गतिविधि गर्दा दूतावासमा पनि त्यसको छाया देखिएको सरोकारवाला बताउँछन् ।
प्रतिक्रिया दिनुहोस्