२० माघ २०८१, आईतवार
पर्यटन बागमती मुख्‍य समाचार समाचार समाज

शैलुङको पर्यटन विकासमा रामेछाप र दोलखाका जनप्रतिनिधिको साझा सहमति

रामेछाप । पर्यटकीयस्थल शैलुङको पर्यटन विकासमा रामेछाप र दोलखा दुवै जिल्लाका जनप्रतिनिधिको साझा सहमति बनेको छ ।
विगतमा सीमा विवादको कारण आरोप प्रत्यारोपमा उत्रिएका दुई छिमेकी स्थानीय तहका जनप्रतिनिधि बिच शैलुङको सामूहिक विकासका विषयमा सहमति भएको हो।
शैलुङको पर्यटन विकास सन्दर्भमा रामेछापको दोरम्बा शैलुङ र दोलखा शैलुङ गाउँपालिकाका प्रतिनिधिहरूको दोलखाको शैलुङ गाउँपालिका स्थिति मागादेउराली बजारमा भएको छलफल शैलुङ विकासको साझा योजन बनेको हो ।
शैलुङको पर्यावरणीय संरक्षण, पर्यटन प्रवर्धन, सरसफाइ शुल्क निर्धारण, सडक तथा यातायातमा थप व्यवस्थापन, भावी कार्यक्रम लगायतको विषयमा छलफल गरी साझा योजना बनाउने सहमति भएको छ ।
छलफलमा रामेछापको दोरम्बा शैलुङ गाउँपालिकाका जनप्रतिनिधिको तर्फबाट वडा नं १ का वडाध्यक्ष प्रेमकुमार लामा, पर्यटन व्यवसायी दावासङ्बु शेर्पा, होटेल व्यवसायी, यातायात व्यवसायी लगायताको सहभागिता थियो ।
त्यस्तै दोलखाको शैलुङ गाउँपालिकाको तर्फबाट गाउँपालिका अध्यक्ष रिमलबाबु श्रेष्ठ, वडाध्यक्ष वीरबहादुर तामाङलगायतका जनप्रतिनिधि तथा होटेल व्यवसायी एवं सामाजिक अगुवाको सहभागिता रहेको थियो ।
दक्षिणी क्षेत्रबाट शैलुङ प्रवेश गर्ने पर्यटकका लागि दोलखाको कालापानी र कालिञ्चोक प्रवेश गर्ने खोलाखर्क र ढुङ्गे बिचको सडक जीर्ण भएको कारण आवागमनमा असहज भएको गुनासो आएपछि दोलखाको शैलुङले मृगस्थली भिरसम्म र मृगस्थलीदेखि खोलाखर्कसम्मको सडक रामेछापको दोरम्बा शैलुङले सुधार गरी तत्कालको लागि यातायात सञ्चालनमा सहज वातावरण तय गर्ने सहमति दुई पक्षबिच भएको छ ।
यसैगरी खोलाखर्क–डडुवा चल्ने नियमित बस सेवा सञ्चालनलाई त्यसै रुटमा सञ्चालन गरी सडकको दिगोपनामा टेवा पु¥याउने सहमति भएको छ । शैलुङ प्रवेश गर्ने एउटा बाटो दोलखाको कालापानीबाट रहेको छ भने अर्को रामेछापको खोलाखर्क रहेको छ ।
हिउँदमा शैलुङ घुम्न देश विदेशबाट पर्यटकहरू आउने गर्दछन् । चिसोमा हिउँ खेल्न तथा चैत बैशाखमा गुराँस हेर्न र प्रकृतिसँग रमाउन बाक्लो सङ्ख्यामा पर्यटकहरू शैलुङ आउने गर्दछन् । यस अघि रामेछापले शैलुङको सीमा विवादका कारण दुई जिल्लाका स्थानीय तहका जनप्रतिनिधि बिचको सम्बन्ध चिसिएको थियो।

प्रतिक्रिया दिनुहोस्