स्रोत नखुलेको रकम सहित दुई जना पक्राउ
रौतहट । सशस्त्र प्रहरीले चेकजाँच गर्ने क्रममा रौतहट ईशनाथ नगरपालिकाबाट स्रोत नखुलेको करिव साढे १६ लाख रकम सहित दुई जनालाई पक्राउ गरेको छ ।
ईशनाथ नगरपालिका वडा नं.४ महुलिया स्थित सडक खण्डमा चेकप्वाईन्ट राखेर आवतजावत गर्ने सवारी साधन तथा पैदल यात्रीहरुलाई चेकजाँच गर्ने क्रममा स्रोत नखुलेको रकम बरामद भएको सशस्त्र प्रहरीले जानकारी दिएको छ ।
सशस्त्र प्रहरी बल मठियाको टोलीले राजपुर नगरपालिका–४ बस्ने ४० वर्षीय शिवमंगल साह र २३ वर्षीय प्रवेज आलमलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट स्रोत खुलाउन नसकेको १६ लाख ४९ हजार २ सय नेपाली रुपैयाँ बरामद गरेको सशस्त्र प्रहरीका एसपी बिक्रम हुमागाईंले जानकारी दिए ।
भारतबाट नेपालतर्फ आउँदै गरेको मधेश प्रदेश ०३३प९३०८ नम्बरको मोटरसाइकल रोकी चेकजाँच गर्दा रकम बरामद भएको उनले जानकारी दिए । उनका अनुसार सशस्त्र र नेपाल प्रहरीले पछिल्लो ६ महिनाको अवधिमा एक करोड बढी स्रोत नखुलेको रकम बरामद गरिसकेको छ ।
पछिल्लो तथ्याङ्ग हेर्दा रौतहटको सिमावर्ति क्षेत्रमा हुण्डी कारोबार मौलाएको देखिन्छ। अवैधानिक मानिएको यस कार्य लुकीछुपी गर्ने समुह नै सक्रिय भएकाले यस तर्फ सरोकारवाला निकायले ध्यान दिनुपर्ने स्थानियको माग छ ।
नेपालमा हुन्डी मार्फत् रकमान्तर गर्नु वा विप्रेषण गर्नु गैरकानुनी कार्य मानिएको छ । हुण्डी कारोबारलाई निरुत्साहित गर्न सिमा सुरक्षाका लागि खटिएका सशस्त्र प्रहरी तथा नेपाल प्रहरीले निगरानी बढाउँदै आएको छ ।
प्रतिक्रिया दिनुहोस्