२० माघ २०८१, आईतवार
अन्तराष्ट्रिय मुख्‍य समाचार समाचार समाज

कन्सर्टको बिचमा उदितनारायणले महिला फ्यानलाई चुमेपछि…

नयाँ दिल्ली । बलिउड गायक उदितनारायण झाको एउटा भिडियो भाइरल भइरहेको छ । यो भिडियो एउटा लाइभ कन्सर्टको हो । आफ्नो चर्चित गित ‘टिप टिप बर्षा पानी’ गाइरहेको समयमा गायकले मञ्चमा महिला फ्यानलाई एक्कासि चुमिदिन्छन् ।

फ्यानले सेल्फीका लागि बाउन्सरसँग अनुमति लिइरहँदा उदितनारायण ती महिला भएको ठाउँमा आउँछन्, नजिकै बस्छन् र गालामा चुम्छन् । क्लिपमा उनले अरु दुई महिला फ्यानलाई पनि यसैगरी चुमेको देखिएको छ ।

यो भिडियो सामाजिक सञ्चालमा चर्चाको विषय बनेको छ । यो भिडियो कहिलेको हो भन्ने पुष्टि हुन सकेको छैन । तर इन्टरनेटमा मानिसहरूले यसबारे अलग–अलग प्रतिक्रिया दिइरहेका छन् । कसैले उनको यो कार्यलाई ‘स्पोन्टेनियस गेष्चर’ अचानक दिइएको प्रतिक्रिया भनेका छन् भने कसैले यसलाई अनुचित र अस्वीकार्य भनिरहेका छन् । यो भिडियोमा व्यापक बहस भइरहेको छ ।

उदितनारायणको यो भिडियो हेरेपछि धेरै प्रयोगकर्ताहरूले गहिरो निराशा र चिन्ता व्यक्त गरेका छन् । एक जना प्रयोगकर्ताले उदितनारायणबाट यो अपेक्षा नगरिएको भनेका छन् । अर्का एक जनाले भने उदितले आफ्नो सीमा नाघेको र उनको व्यवहार पूर्णतया अस्वीकार्य र अनुपयुक्त भएको बताएका छन् । केही प्रयोगकर्ताहरूले उनीहरूलाई आलोचना गर्दै ‘यो के हो ?’ भनेका छन् ।

अर्का एक जनाले उनी स्टार भएकाले यसलाई हल्का रूपमा लिइएको भनेका छन् । भाइरल भिडियोबारे उदित नारायण वा उनको टोलीबाट कुनै आधिकारिक बयान आएको छैन । रेडियो नेपालबाट आफ्ना करियर शुरु गरेका उदितले १९८० मा आएको फिल्म ‘उन्नी–बीस’ बाट प्लेब्याक डेब्यू गरेका थिए । १९८८ को फिल्म ‘कयामत से कयामत तक’बाट उनी चर्चामा आएका थिए ।

प्रतिक्रिया दिनुहोस्