२३ माघ २०८१, बुधबार
अर्थ पर्यटन प्रदेस समाचार मधेश मुख्‍य समाचार राजनीति समाचार समाज

जनकपुरधाममा इन्डो नेपाल टुरिजम समिट सम्पन्न

जनकपुर । जनकपुरधाममा इन्डो नेपाल टुरिजम सम्मिट २०२५ सम्पन्न भएको छ ।

नेपाल भारतबीच पर्यटन प्रवद्र्धनमा जोड दिने उद्देश्यका साथ भारतीय दुतावास, वीरगञ्ज र पीएचडीसीसीआई इन्डिया नेपाल सेन्टरको आयोजनामा मंगलबार जनकपुरधाममा उक्त सम्मिट सम्पन्न भएको छ ।

कार्यक्रममा मधेश प्रदेशका मुख्यमन्त्री सतीस कुमार सिंहले धार्मिक पर्यटन (रिलिजियस टुरिजम)मा प्रचुर सम्भावना रहेकोले नेपाल सरकारले पर्यटकहरुका लागि ठोस नियम कानुन बनाउन आवश्यक रहेको बताए ।

उनले भारतको महाकुम्भ र साउदीको मक्का मदिनका उदाहरण दिँदै पर्यटन क्षेत्रको विकास प्रभावकारी ढंगले गर्न सके देशको जीडिपीमा ठूलो मदत पुग्ने जनाए ।

मुख्यमन्त्री सिंहले विदेशी पर्यटकहरुलाई दिनको १५० देखि २०० डलरसम्म खर्च गर्नुनै पर्ने गरि नियम कानुन सरकारले बनाउनुपर्नेमा जोड दिए । साथै उनले स्थलमार्गबाट आउने भारतीय पर्यटकहरुलाई विशेष सुविधा उपलब्ध गराउनुुपर्ने बताए ।

अहिले लाखौं नेपाली महाकुम्भमा स्नान गर्न भारत गएको जानकारी दिँदै भारतबाट पनि पर्यटक र श्रद्धालुलाई जनकपुरधाम आउनुपर्ने भनेर प्रचार प्रसार गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा भारतीय महावाणिज्यदुतावास, वीरगञ्जका महावाणिज्यदूत देवी सहाय मिनाले भारत नेपालबीचको पौराणिक र इतिहासिक सम्बन्ध रहेकोले दुबै देशमा पर्यटनको सम्भावना प्रचुर रहेको बताए ।

उनले भारत र नेपालमा पर्यटनको अपार सम्भावनालाई मध्येनजर गर्दै दुबै देशले मिलेर काम गर्नु आवश्यक रहेकोमा जोड दिए । दुबै देशको इतिहास र संस्कृति महत्वपूर्ण सम्पक्ति रहेको धारणा राख्दै उनले यसलाई अझ मजबुत बनाउन सके दुबै देशबीचको सम्बन्ध थप मजबुत हुनुका साथै आर्थिक रुपमा सबल बन्न सकिने बताए ।

उनले कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तिहरुले पर्यटन विकासका लागि राखेका आफ्ना अनुभव र विचारले सीमा क्षेत्रको पर्यटन विकासका साथै दुबै देशको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा, होटल व्यवसायी संघका पदाधिकारी, उद्योग वाणिज्य संघका पदाधिकारी, साहित्यकार, भाषाविद लगायत पर्यटन प्रवद्र्धन तथा पर्यटन व्यवसायीसंग आवद्ध व्यक्तिहरुको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्