दीपक रौनियार निर्देशित ‘राजागंज’ को टिजर रिलिज
२३ माघ, काठमाडौं । दीपक रौनियारको निर्देशनमा निर्माण भएको सिनेमा ‘राजागंज’को टिजर सार्वजनिक भएको छ ।
बुधबार सार्वजनिक सिनेमाको टिजरले दर्शकमाझ उत्साह पैदा गर्ने देखिन्छ । टिजर रिलिजको पूर्वसन्ध्यामा सार्वजनिक सिनेमाका मुख्य महिला पात्रको लुक्सले पनि सिनेमाको टिजरप्रति दर्शकमाझ प्रतिक्षा थियो ।
सिनेमामा सात महिला पात्रलाई मुख्य भूमिकामा प्रस्तुत गरिएको छ । सिनेमामा दयाहाङ राई, आशा मगराती, विजय बराल, ऋचा शर्मा, गौमाया गुरुङ, पशुपती राई, पूर्वमिस नेपाल निकिता चाण्डक, पुष्पा यादव, आरती मण्डल घनश्याम मिश्र, परमेश्वर कुमार झा र नीरज श्रेष्ठ लगायतका कलाकारको अभिनय रहेको छ ।
सिनेमाले भेनिस, ह्याम्बर्ग, बुसान र मुम्बई जस्ता विश्वका ठुला सिनेमा महोत्सवमा आफ्नो प्रभाव जमाई सकेको छ । यो सिनेमा गत कात्तिक एकै महिनामा ५ फेस्टिभलमा स्क्रिनिङ भएको थियो । सिनेमाले भेनिसमा १० मिनेटको स्ट्यान्डिङ ओभेसन प्राप्त गरेको थियो ।
प्रतिष्ठित अमेरिकी अखबार ‘द न्युयोर्क टाइम्स’ले निर्देशक रौनियारलाई संसारका नौ उदीयमान निर्देशकको सूचीमा समावेश गरेको थियो । ब्राजिलियन लेखक पाओलो कोहेलोले सार्वजनिक रुपमै रौनियारको प्रशंसा गरेका थिए ।
आगामी चैत्र १ गतेबाट नेपालभरका सिनेमा घरमा रिलिज हुनेछ । यो सिनेमालाई नेपालमा टिफल्क र ब्यांकटेश इन्टरटेनमेन्टले संयुक्त रुपमा रिलिज गर्ने भएका हुन्न्। सत्य घटनाबाट प्रेरित रहेको ‘राजागञ्ज’ले नेपाल र भारतको सीमावर्ती शहरमा अपहरणमा परेका दुई बालकलाई मुक्त गराउन प्रहरीले चालेको खोजी अप्रेसनको कथा उठाएको छ ।
सिनेमाको निर्माणमा आदि फिल्मस्का तर्फबाट निर्देशक रौनियार र अभिनेत्री मगराती, बासुरी फिल्मस्का तर्फबाट रामबाबु गुरुङ र मनिराम पोखरेल, अभिनेता दयाहाङ राई तथा तन्हाउसर गेटका तर्फबाट एलन आर मिलिगनले सहकार्य गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्