हेटौँडामा योग, ध्यान तथा जागरण कार्यक्रम
![](https://www.ratokagaj.com/wp-content/uploads/2025/02/1610602965_yoga-1200x560-1.jpg)
मकवानपुर, २४ माघ । बागमती प्रदेशसभा सचिवालय, प्रदेश स्वास्थ्य मन्त्रालय र जीव विज्ञान प्रतिष्ठान काठमाडौँको संयुक्त आयोजनामा योग, ध्यान, अभ्यास र जागरण कार्यक्रम सम्पन्न भएको छ ।
आज यहाँ आयोजित कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामाका साथै प्रदेशका मन्त्रीहरू, प्रदेशसभाका सभामुख भुवनकुमार पाठक, उपसभामुख अप्सरा चापागाईँ, प्रदेशसभाका सांसदलगायय सरकारी तथा गैरसरकारी निकायका प्रतिनिधिको सहभागिता थियो ।
साथै विभिन्न मन्त्रालयका सचिव, मकवानपुरका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रतिनिधि, नेपाली सेनाका प्रतिनिधि र स्थानीय सजावसेवीको सहभागिता रहेको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए ।
समारोहलाई सम्बोधन गर्दै प्रदेशका मुख्यमन्त्री लामाले मुलुकमा दिगो शान्ति स्थापन गर्न, राजनीतिक स्थायित्व कायम गर्न मानव जीवनमा सकरात्मक सोच र व्यवहारमा परिवर्तन गर्नुपर्ने भन्दै योग र ध्यानका माध्यमबाट सकारात्मक मार्गमा हिड्न सकिने धारणा राखे। समाजप्रति जवाफदेही बनाउन प्रत्येक नागरिकको मस्तिष्कमा योग, साधना र जागरण आवश्यक पर्ने हुँदा त्यसतर्फ क्रियाशील हुन उनले सबैलाई आग्रह गरे ।
मुख्यमन्त्री लामाले समाजलाई नयाँ रुपान्तर गर्न योग र साधनाको शिक्षा आवश्यक भएकाले सङ्घीय र प्रदेश सरकारले समन्वय र सहकार्य गरेर स्थानीय तहमा रहेका विद्यालयमा योग शिक्षालाई अनिवार्य अध्यापन गराउन गुरुयोजना तर्जु गरी कार्यान्वय गर्ने बताए।
प्रदेशसभाका सभामुख पाठकले मानव जीवनमा दैनिक आइपर्ने विभिन्न प्रकारका तनावलाई नियन्त्रणमा राख्दै आफ्नो मस्तिष्कलाई स्वस्थ राख्न योग, ध्यान र अभ्यास आवश्यकता पर्ने बताए । उनले समाजलाई सभ्य, स्वस्थ, प्ररोपकारी तुल्याउन हरेक क्षेत्रमा बसोबास गर्ने नागरिकले व्यवहार, जीवनशैलीमा परिवर्तन गरी योग, ध्यानतर्फ सहभागी हुँदै जानुपर्ने आजको आवश्यकता भएको उल्लेख गरे।
जीव विज्ञान प्रतिष्ठानका प्रमुख प्रशिक्षक भानु शर्माले मानवको मस्तिष्कलाई स्वस्थ तुल्याउन र विभिन्न सङ्क्रमण तथा रोगबाट बच्न स्वस्थ खानपिनका साथै योग, ध्यानमा जोड दिनुपर्ने बताए । उनले त्यसका लागि प्रदेश सरकार र स्थानीय निकायले पनि यस्ता किसिमका शिविर सञ्चालन गरिरहनुपर्ने उल्लेख गरे ।
प्रतिक्रिया दिनुहोस्