‘जनप्रतिनिधिले जनतालाई अनावश्यक दुःख दिने काम अन्त्य हुनुपर्छ’
कामठाडौं । उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले जनप्रतिनिधिबाट अनावश्यक रुपमा जनतालाई दुःख दिने कामको अन्त्य हुनुपर्ने बताएका छन् ।
शुक्रबार काठमाडौं महानगरपालिका वडा नं २९ को प्रशासनिक भवन उद्घाटन समारोहमा उनले जनप्रतिनिधिले जनताको गुनासो सुनेर त्यसलाई कसरी सम्बोधन गर्ने भन्नेतिर नै जोड दिएर लाग्नुपर्ने बताए ।
उनले भने,‘सबैभन्दा बढी जनताले के खोजिरहेका छन् । जनताले समस्या राखिसकेपछि त हुनसक्ने काम त गर्दिनपर्छ नि । भोलि, आउनुहोस, पर्सि आउनुहोस भन्ने गरिन्छ । स्पष्ट भनिदिनुपर्छ, अनावश्यक दुःख दिन पाइँदैन् । यसको अन्त्य हुनुपर्छ । जनप्रतिनिधिले जनताको गुनासो सम्बोधन गर्ने भन्नेतिर नै लाग्नुपर्छ भन्ने कुरामा जोडदिन्छु ।’
त्यस्तै उनले सरकारप्रति प्रश्न धेरै उठ्ने गरेको भन्दै स्थायी सरकार बनाउने उद्देश्यले बर्तमान सरकार निर्माण भएको बताए ।
उनले भने,‘सबैले सरकारबारे प्रश्न गरेका छन् । कांग्रेस र एमालेले अरु पार्टीलाई पनि मिलाएर अहिले जुन सरकार बनेको छ त्यो जनताको चाहना हो । शान्ति प्रकृयामा पनि कांग्रेसले नै नेतृत्व गरेको हो नि ।
मन्त्री सिंहले वडाको भवन आफ्नै वडामा बन्नुपर्छ भन्दा विवाद गर्नुपर्ने अवस्था आएको स्मरण गर्दै नेपालमा नराम्रो काम गर्नभन्दा राम्रो काम गर्नको लागि धेरै अप्ठ्यारो रहेको बताए ।
प्रशासनिक भवन पूर्वाधार विकास मात्रै होइन : सुनिता डंगोल
त्यस्तै काठमाडौं महानगरपालिका उपमेयर सुनिता डंगोलले सबै वडाको आ–आफ्नै प्रशासनिक भवन निर्माणसँगै नागरिकलाई महानगरले र वडाले दिने सेवा सुविधामा थप प्रभावकारी हुने विश्वास व्यक्त गरिन् ।
प्रशासनिक भवन पूर्वाधार विकासका पक्ष मात्र नभई जनतासँग जोडिएको विषय भएकाले आम जनतालाई सुशासनसँग जोड्न पनि प्रशासनिक भवनको महत्वपूर्ण भूमिका हुने उनको भनाई छ ।
उनले भनिन्,‘आ–आफ्नै वडाको प्रशासनिक भवन भएमा नागरिकलाई महानगर र वडाले दिने सेवा सुविधामा थप प्रभावकारी हुन्छ भन्नेमा विश्वास राखेका छौं । आज भवन उत्घाटन गर्न पाउँदा निकै खुसी लागेको छ । यो कुनै पूर्वधारका विकासका पक्ष मात्र होईन् जनतासँग आम नागरिकसँग जोडिएको विषय हो । आम जनतालाई सुशासनसँग जोड्न पनि प्रशासनिक भवनको महत्वपूर्ण भूमिका हुन्छ ।’
उनले २९ वडा वडामा नै मेलमिलाप केन्द्र सञ्चालनमा ल्याइएको पनि जानकारी दिईन् ।
प्रतिक्रिया दिनुहोस्