२५ माघ २०८१, शुक्रबार
गण्डकी मुख्‍य समाचार विचार समाचार समाज सूचना प्रविधि

चित्रकार विनोदीको उपचार सहयोगार्थ चित्रकला प्रदर्शनी

नवलपुर नवलपरासी, २५ माघ । अर्बुद क्यान्सर रोगबाट पीडित नवलपरासी बर्दघाट–सुस्तापूर्व का गैँडाकोटका कवि तथा चित्रकार गोविन्दराज विनोदीको उपचार सहयोगार्थ चित्रकला प्रदर्शनी गरिएको छ ।

पेटको क्यान्सरबाट पीडित विनोदीको उपचार खर्च जुटाउने उद्देश्यले गैँडाकोट नगर प्रज्ञा प्रतिष्ठान र कलावती आर्ट काउन्सिलले संयुक्तरूपमा यही माघ १५ गतेदेखि चित्रकला प्रदर्शनी गरेको हो ।

विनोदीले लेखेका ४५ वटा कवितामा निर्माण गरिएको चित्रकलाबाट सङ्कलन भएको रकम उलाई हस्तान्तरण गरिने प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव कलाकार भीम शर्माले जानकारी दिए। “सुरूमा हामीले विनोदीका २५ वटा कवितामा चित्र बनाउने भनेका थियौँ,” उनले भने, “पछि ४५ जना कलाकारलाई चित्र कोर्न आग्रह गरेपछि उहाँहरूले चित्र कोरेर पठाउनुभएको छ, चित्र बिक्रीबाट आउने सम्पूर्ण आम्दानी विनोदी सरको उपचारका लागि प्रदान गर्छौँ ।”

वरिष्ठ चित्रकार दुर्गा बराल ‘वात्सायन’, ललितकला प्रज्ञाप्रतिष्ठानका पूर्व उपकूलपति केके कर्माचार्य, वर्तमान कुलपति नारदमणि हारतमछाली, उपकूलपति लालकाजी लामा, कलाकारहरू सुनील सिग्देललगायतका कलाकारहरूले विनोदीको कवितामा आधारित भएर चित्र कोर्नुभएको शर्माले जानकारी दिए । प्रदर्शनीमा ५५ वटा चित्रहरू राखिएका शर्माको भनाइ छ । “प्रदर्शनीमा राखिएका चित्रमध्ये गैँडाकोट नगरपालिकाले २२ वटा चित्र तथा अन्य व्यक्ति र संस्थाले समेत चित्र खरिद गर्नुभएको छ,” उनले भने, “प्रदर्शनीमा राखिएका करिब ९० प्रतिशत चित्र बिक्री भइसकेका छन्, बाँकी चित्र पनि बिक्री हुने सम्भावना छ ।”

गैँडाकोट नगरपालिका–५ स्थित प्रज्ञा प्रतिष्ठानको जानकी ग्यालरीमा आयोजित चित्रकला प्रदर्शनीलाई सह–सम्बन्ध नाम दिइएको छ । चित्र र कविताको सम्बन्ध जनाउने उद्देश्यले प्रदर्शनीको नाम सह–सम्बन्ध राखिएको चित्रकार शर्माले बताए । “चित्र र कविताको सम्बन्धले गर्दा चित्रकार र कविको बीचको सम्बन्ध हो र यो मानवीय सम्बन्धको कुरा हो” उनले भने, “विनोदीले लेख्नुभएको कविता चित्रकारलाई पठाएपछि उहाँहरूले कवितालाई अगाडि राखेर आफूमा आएको भावलाई चित्रमा उतार्न भनेका थियौँ, त्यहीअनुसार चित्र प्रदर्शनी गरिएको हो ।”

चित्रकला प्रदर्शनीमा क्यान्सर पीडित कवि एवम् चित्रकार विनोदीले कोर्नुभएको चित्रसमेत राखिएका छन् । चित्रकलामा प्रदर्शन गरिएका तस्बिर र तस्बिर कोरिएका कविताहरूको सङ्ग्रहको रूपमा पुस्तकसमेत प्रकाशन गर्ने तयारी गरिएको शर्माको भनाइ छ । कवि तथा चित्रकार विनोदीले उपचार खर्चबापत सिधै रकम लिन नमानेपछि उनीसँगको सहमतिमा चित्रकला प्रदर्शनी आयोजना गरिएको शर्माले बताए ।

प्रदर्शनीमा राखिएका चित्रहरू न्यूनतम रू २० हजारदेखि रू ४० हजार मूल्यका रहेका छन् । वरिष्ठ कलाकार र नाम चलेका कलाकारहरूले कोर्नुभएको चित्रको मूल्य धेरै राखिएको उनको भनाइ छ । चित्रको बारेमा बुझेका र कवि एवम् चित्रकार विनोदीप्रति सद्भाव राख्ने व्यक्ति एवम् संस्थाहरूले खरिद गरेको चित्रहरू प्रदर्शनी सकिएपछि हस्तान्तरण गरिने शर्माले बताए।

प्रतिक्रिया दिनुहोस्