२५ माघ २०८१, शुक्रबार
गण्डकी मुख्‍य समाचार समाचार समाज

वेलायती राजकुमार पोखरामा, गोर्खा सैनिकमा भर्ती भएकाहरुसँग भेटघाट

पोखरा । नेपाल भ्रमणमा रहेका बेलायती राजकुमार एडवार्ड र राजकुमारी डचेस सोफी पोखरामा छन् । उनीहरुले गोर्खा सेनामार्फत बेलायत–नेपाल मित्रताको गहिरो सम्बन्ध रहेकोबारे चर्चा समेत गरे ।

बेलायती सेनामा औपचारिक रुपमा सामेल भएका २७४ नेपाली युवाहरुको वार्षिक प्रमाणीकरणमा सहभागि भएका उनीहरुले गोर्खा सैनिकमा नेपालीहरुको सक्रियताको प्रसंशा गरेका थिए । त्यसक्रममा बेलायती सेनामा नयाँ भर्ना भएका केही युवाका परिवारका सदस्यहरूसँग भेटघाट पनि गरेका थिए ।

अत्यधिक प्रतिस्पर्धात्मक भर्ती प्रक्रिया पछि २७४ जना प्रशिक्षार्थी राइफलम्यानहरू बेलायती सेनामा सामेल हुनेछन् । गोर्खा सेनाको ब्रिगेड ब्यान्डको नेतृत्वमा परेडको मार्च–आउटमा नेपालभरबाट आएका नयाँ भर्ती भएकाहरुका परिवारका सदस्यहरू उपस्थित थिए ।

राजकुमारले भने, ‘अब तपाईं गोर्खा सैनिक बन्नुभएको छ । यस वर्ष भर्ती हुन सम्भावना बोकेका १३,००० भन्दा बढीमध्ये केवल २७४ नयाँ गोर्खा मध्ये एक हुनुहुन्छ । यो तपाईंको जीवनको सबैभन्दा ठूलो चुनौतीहरू मध्ये एक रहेको छ । आफ्नो उपलब्धिमा धेरै गर्व महसुस गर्न सक्ने अवस्थामा हुनुहुन्छ ।’
उनीहरू बेलायतको क्याटरिकमा रहेको सैन्य प्रशिक्षण केन्द्र (आइटीसी) पुग्नेछन्, जहाँ उनीहरूले नौ महिना लामो प्रशिक्षणमा सहभागी हुनेछन् ।

समारोहमा उपस्थित अन्य व्यक्तित्वहरु नेपालका लागि बेलायती राजदूत रोब फेन; गोर्खा ब्रिगेडका कर्नल कमान्डेन्ट मेजर जनरल स्ट्रिकल्याण्ड डिएसओ एमबीइ; गोर्खा ब्रिगेडका डेपुटी कर्नल कमान्डेन्ट मेजर जनरल द लर्ड ल्यान्कास्टर टिडी पीसी; ब्रिटिश गोर्खा नेपाल (बिजीएन) का कमाण्डर कर्नल ड्यान रेक्स एमभिओ; र बिजीएनका डेपुटी कमाण्डर लेफ्टिनेन्ट कर्नल राजेशकुमार गुरुङले भर्ती भएका नयाँ सैनिकहरूको प्रमाणीकरणको अवलोकन गरे ।

परेडमा गोर्खा र ब्रिटिश कर्मचारीहरूलाई ३८ वटा राज्याभिषेक पदक र दुई वटा दीर्घ सेवा तथा असल आचरण पदकहरू पनि प्रदान गरिएको थियो । राजकुमार र राजकुमारीले १०४ वर्षीया आशा कुमारी तामाङलाई पनि भेटेका छन् । जसका स्वर्गीय श्रीमान्ले दोस्रो विश्वयुद्धमा चौथो गोर्खा राइफल्समा आवद्ध भई सेवा गरेका थिए ।
राजकुमार दम्पत्तीलाई पोखराका मेयर धनराज आचार्य, प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले स्वागत गरेका थिए । उनीहरु बिहीबार र शुक्रबार कास्कीमा रहने छन् ।

पृष्ठभूमि
गोर्खा वेल्फेयर ट्रस्ट भूपू गोर्खा सैनिक, उनीहरूका परिवार र समुदायलाई सहयोग गर्न समर्पित अग्रणी परोपकारी संस्था हो । यसको स्थापना सन् १९६९ मा कल्याणकारी पेन्सनधारीहरु (एमओडी पेन्सनका लागि योग्य हुनु अगावै बेलायती सेना छोडेका)लाई आर्थिक सहायता प्रदान गर्न भएको थियो । आज ट्रस्टले भूपू गोर्खा सैनिक र उनीहरूका परिवारहरूलाई नेपालमा (र भारत जहाँ केही गोर्खा लाभग्राहीहरूले आर्थिक र स्वास्थ्य सहयोग प्राप्त गरिरहेका छन्) सम्मानित जीवन बाँच्न सकून् भन्ने कुरा सुनिश्चित गर्न आर्थिक, स्वास्थ्य र विकासजन्य सहायता प्रदान गर्दछ । नेपालस्थित ५१५ जनाको प्रभावकारी टोलीमार्फत ट्रस्तले नेपालभरि उल्लेखनीय प्रभाव पारेको छ, प्रत्येक वर्ष लगभग २ करोड ४० लाख पाउण्ड विभिन्न कार्यमा खर्च गर्दै आएको छ जस्तै ः हजारौं गरिब भूपू गोर्खा सैनिक र विधवाहरूलाई कल्याणकारी पेन्सन र अनुदान, जसले उनीहरू सम्मानका साथ बाँच्न सकून् भन्ने कुरा सुनिश्चित गरेको छ; भूकम्पपछि राहत र उत्थानशील आवास (ट्रस्टले भूपू गोर्खा सैनिक र उनीहरूका विधवाहरूका लागि तत्काल राहत सहयोग उपलब्ध गराउनुका साथै १,७५० भन्दा बढी भूकम्प–प्रतिरोधी घरहरू निर्माण गरिसकेको छ ); स्वास्थ्य उपचार सेवाः भूपू गोर्खा सैनिक र उनीहरूका परिवारहरूलाई उच्चस्तरको स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ । गत वर्ष २१ हजार २०० भन्दा बढी बिरामीहरूले चिकित्सा सेवा प्राप्त गरे; स्वच्छ खानेपानी र सरसफाइ (गत वर्ष मात्र १,५९० धाराहरू जडान गरी दुर्गम समुदायहरूमा स्वच्छ खानेपानी पु¥याउने काममार्फत ८ हजार ८०० भन्दा बढी व्यक्तिहरू लाभान्वित भएको); र शिक्षाः ट्रस्टको विद्यालय कार्यक्रमले दुर्गम क्षेत्रहरूमा विद्यालयहरू निर्माण र मर्मतसम्भार गर्दछ जसले नेपाली बालबालिकाहरूको शिक्षामा पहुँच सुधार हुनपुगेको छ ।

ब्रिगेडियर ’बनी’ बर्नेटले सर होरेस कदुरीलाई नेपालमा रहेका भूपू सैनिकहरूलाई ब्रिगेड अफ गोर्खाजले कसरी राम्रो सहयोग पु¥याउन सक्छ भन्ने बारेमा चासो व्यक्त गर्दा कदुरी कृषि सहायता संघ सन् १९६८ बाट सुरु भएको हो । योजना सुरु भएदेखि कदुरी परिवारले नेपालका पहाडी समुदायहरूको सहयोगार्थ १२ करोड ५० लाख पाउण्ड उपलब्ध गराइसकेको छ । संघले हाल कृषिमा भन्दा पनि पूर्वाधार इन्जिनियरिङ र तालिमको क्षेत्रमा धेरै काम गर्छ ; तर सारमा यो “आफूलाई मद्दत गर्नेहरूलाई मद्दत गर्ने” र “वञ्चितीकरणमा परेकाहरुको जीवनमा अवसर निम्त्याउने“ बारे हो । संघलाई पूर्णतः कदुरी चैरिटेबल फाउन्डेसनले आर्थिक सहायता प्रदान गर्दै आएको छ; ःएमओडीको अनुरोधमा र उनीहरूको सहयोगमा यो गोर्खा कल्याण ट्रस्टसँगै कार्यान्वयन साझेदारको रूपमा काम गर्दछ । सामान्यतया प्रतिवर्ष लगभग ७ करोड ५ लाख पाउण्ड बराबरका क्रियाकलापहरुमा पूर्वाधार, रोजगारी तालिम, विशेष परियोजनाहरू, र केही स्वविवेकी योजनाहरू समावेश हुनेगर्छन् । पछिल्लो समय यसले २०७२ साल को भूकम्पमा नष्ट हुन पुगेकालाई प्रतिस्थापन गर्न ८०० वटा घरहरू निर्माण गर्नुका साथै नेपालको कोभिड प्रतिक्रियामा उदारतापूर्वक योगदान दिएको छ ।

७ फेब्रुअरीमा ब्रिटिश गोर्खाज पोखरा (बीपीपी) मा हुने भर्ती इन्टेक २५ (आरआइ२५) प्रमाणीकरण परेड ब्रिटिश गोर्खाज नेपाल (बिजिएन) द्वारा सञ्चालित तीन चरणको छनोट प्रक्रियाको अन्तिम क्रियाकलाप हो । परेडमा गोर्खाजको ब्रिगेडमा सामेल हुने २७४ जना प्रशिक्षार्थी राइफलम्यान सहभागी हुनेछन् । त्यसका लागि गत मार्च महिनाभरि १३ हजार भन्दा बढी सम्भावित व्यक्तिहरुले गोर्खा सैनिक बन्न आवेदन दिएका थिए । स्वतन्त्र, निष्पक्ष र पारदर्शी भन्ने गोर्खा भर्तीको मन्त्रको परिपालना भएको सुनिश्चित गर्न सम्पूर्ण प्रक्रियालाई स्वतन्त्र रूपमा आश्वस्त पार्ने काम गरिन्छ ।

 

प्रतिक्रिया दिनुहोस्