गरुडा नगरपालिकाको जयनगरमा फर्निचर मेला सुरु
![](https://www.ratokagaj.com/wp-content/uploads/2025/02/Photo-2-1-1-1291x700.jpeg)
२५ माघ, रौतहट । रौतहटको गरुडा नगरपालिका वडा नं. १ स्थित जयनगरमा श्रीपञ्चमीको अवसर पारेर काठको फर्निचर मेला सुरु भएको छ ।
प्रत्येक बर्ष झै यस वर्ष पनि नेपाल विश्वकर्मा बजार समितिको आयोजनामा फर्निचर तथा फलामे औजारको मेला लागेको हो ।
मेलामा घरायसी प्रयोजनका साथै कृषिमा प्रयोग गरिने घरेलु यन्त्र काठको फर्निचर र फलामका विभिन्न औजार सामग्री बिक्रीका लागि राखिएको छ ।
आफ्नै काठ र आफैंले फर्निचर बनाउने हुनाले तुलनात्मक रूपमा फर्निचर सस्तो हुने गरेको व्यवसायीहरू बताउँछन् । अन्य ठाउँमा सामान किनेको भन्दा जयनगर फर्निचर मेलामा २५ प्रतिशतभन्दा बढी सस्तो हुने गरेको शिवनगरका सुवास मिश्रले बताए ।
यातायातको सुविधा भएको र तुलनात्मक रुपमा फर्निचर सस्तो पर्ने हुनाले धेरै ग्राहकले जयनगरको फर्निचर मेलामा आउने गरेको उनको भनाइ छ ।
करीब एक महिनासम्म लाग्ने फर्निचर मेलामा यसपटक पाँच करोड रुपैयाँको कारोबार हुने अनुमान गरिएको विश्वकर्मा लोहार संघ रौतहटका अध्यक्ष विवेक शर्माले बताए । उनका अनुसार गत वर्ष मेलामा करीब चार करोड रुपैयाँको कारोबार भएको थियो ।
उक्त मेलामा साल, सिसम, टिक, आँप लगायत जातको काठ प्रयोग गरी बनाइएको बक्स पलङ सेट ,डाइनिङ टेबल सेट, कुर्सी, खाट, बेन्च, ढोका, ड्रेसिङ टेबल, झ्याल, दराज लगायतका सामान सस्तो मूल्यमा खरिद बिक्री हुने गर्दछ । त्यस्तै मेलामा फलामको कोदालो, हँसिया, कुटो, बञ्चरो, खुकुरी लगायतका सामग्री खरिद बिक्री हुने गरेको छ ।
एक महिनाभन्दा लामो समयसम्म चल्ने फर्निचर मेलामा घरायसी प्रयोगका विभिन्न सामग्रीहरु खरिद गर्नेको आर्कषण बढेको पाईन्छ । जयनगर फर्निचर मेलाबाट काठमाडौँ, जनकपुर, पोखरा, वीरगंजका साथै सर्लाही, रौतहट र बाराका विभिन्न गाउँमा काठका फर्निचर पुग्ने गरेको छ । साथै भारतको विभिन्न ठाउँसम्म पनि मेलाबाट घरायसी प्रयोजनका लागि ग्राहकहरुले फर्निचर लैजाने गरेको बुझिएको छ । चन्द्रनिगाहपुर गौर सडक खण्डको राजमार्ग नजिकको खण्डमा यो मेला लाग्ने गर्दछ । सम्भवतः मधेश प्रदेशकै ठुलो फर्निचर मेला भएको आयोजकले दाबी गरेको छ ।
प्रतिक्रिया दिनुहोस्