बैतडीमा मानवीय सहायतास्थल सञ्चालन हुने

बैतडी, २७ माघ । जिल्लाको पाटन नगरपालिका–८ खोड्पेमा मानवीय सहायतास्थल सञ्चालनका लागि पहल थालिएको छ । विपद्को समयमा गरिने खोज, उद्धार तथा राहत व्यवस्थापनलाई थप प्रभावकारी बनाउने उद्देश्यले यहाँ सहायतास्थल सञ्चालनको तयारी थालिएको हो ।
सुदूरपश्चिम प्रदेशका तीन पहाडी जिल्ला बैतडी, बझाङ र दार्चुलाका नागरिकलाई विपद्को समयमा छिटो र प्रभावकारी रूपमा सहयोग पुर्याउने उद्देश्यले खोड्पेमा मानवीय सहायतास्थल सञ्चालनको तयारी थालिएको जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जानकारी दिए।
उक्त सहयतास्थल सञ्चालनका लागि प्रमुख जिल्ला अधिकारी उपाध्याय नेतृत्वको टोलीले स्थलगत अनुगमन गरिसकेको छ । अनुगमनपश्चात् उनले भने, “मानवीय सहायतास्थलको स्थलगत अनुगमन गरेपछि थप तयारीका लागि समन्वय र सहयोग गर्न गृह मन्त्रालयलाई सिफारिस गर्नेछौँ ।”
उनका अनुसार प्रदेशका बैतडी, बझाङ र दार्चुलाका नागरिकलाई विपद्को समयमा सहयोग पुर्याउने उद्देश्यले विश्व खाद्य कार्यक्रमअन्तर्गत सङ्घीय सरकारले दुई वर्षअघि खोड्पेमा मानवीय सहायतास्थल स्थापना गर्ने योजना बनाएको थियो ।
प्रजिअ उपाध्यायका अनुसार सङ्घीय सरकारले दुई वर्षअघि योजना बनाए पनि केही सामग्री अभाव र प्रक्रियाका कारण सञ्चालनमा आउन सकेको छैन् । उक्त सहायतास्थल सञ्चालनमा ल्याउन थप संरचना निर्माण गर्नुपर्ने भएकाले सोका लागि पहल भइरहेको उनले जानकारी दिए ।
उनले भने, “विपद्को समयमा गरिने खोज, उद्धार तथा राहत व्यवस्थापनलाई थप प्रभावकारी बनाउने उद्देश्य राखेर मानवीय सहायतास्थल सञ्चालनको लागि पहल थालेका छौँ, यसका लागि जिल्ला प्रशासनले गृह मन्त्रालयलाई सिफारिस गर्नेछ । गृहले थप योजना, आवश्यक ढाँचासहित अनुमति दिएपछि अन्य प्रत्रिया अघि बढ्नेछ ।”
सहायतास्थल गोदाम घरजस्तै रहेको भन्दै यहाँ चार वटा कन्टेनर रहने प्रजिअ उपाध्यायले जानकारी दिए । “यसभित्र घर बनाउन मिल्ने सामग्री हुन्छन् । विपद् जहिले, जहाँ पनि आउन सक्ने भएकाले त्यसको पूर्वतयारीका लागि सहयतास्थल कुन अवस्थामा छ र कसरी व्यवस्थित गर्न सकिन्छ भने अनुमगन गरिएको हो”, उनले भने ।
प्रजिअ उपाध्यायले बैतडीका साथै बझाङ र दार्चुलाका लागि पनि यो स्थान पायकपर्ने भएकाले पाटन नगरपालिका–८ खोड्पे छनोट गरिएको जानकारी दिए । तीनवटै जिल्लामा आवश्यक पर्ने गोदाम घर, दुई वटा हेलिप्याट यहाँ रहने भन्दै यहाँबाट हेलिकप्टरमार्फत आवश्यक सामग्री ढुवानी गर्न सहज हुने धारणा राखे ।
उनले भने, “विपद्को बेला उद्धार गर्ने सामग्री अभाव छ, राहत सामग्रीका लागि पनि गृह मन्त्रालयलाई अनुरोध गरेका छौँ । स्थानीय पालिकाबाट पनि सामग्री सङ्कलन गर्न सकिन्छ ।”
मानवीय सहयतास्थलको सुरक्षा प्रबन्ध प्रशासनले गर्ने र सञ्चालन व्यवस्थापनसम्बन्धी स्थानीय जनप्रतिनिधि र नागरिकसँग छलफल गरी योजना बनाइने जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ । सरकारले बैतडीसहित देशका चार स्थानमा सहयतास्थल सञ्चालन गर्ने तयारी गरेको छ । बैतडीको खोड्पे, जुम्लाको खलङ्गा, महोत्तरीको बर्दिबास र तेह्रथुमको वसन्तपुरमा सहायतास्थल पूर्ण रूपमा सञ्चालनको तयारी भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्