लागुऔषध दुर्व्यसनीमा नफस्न परराष्ट्रमन्त्री राणाको आग्रह
![](https://www.ratokagaj.com/wp-content/uploads/2025/01/aarju-rana0001_vP0YlA6VfY.jpg)
अत्तरिया कैलाली, २७ माघ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले लागुऔषध दुर्व्यसनीमा नफस्न सबैलाई आग्रह गरेका छन् ।
नेपाल विद्यार्थी सङ्घ धनगढी उपमहानगर समितिले आइतबार धनगढीमा आयोजना गरेको लागुऔषध दुर्व्यसनीविरुद्धको बृहत् पैदलयात्राको शुभारम्भ गर्दै उनले लागुऔषधको प्रयोग नगर्न सबैमा आग्रह गरेका हुन् ।
“लागुऔषध एकपटक पनि प्रयोग नगर्नुहोस् । एक मात्राले पनि दिमागमा असर गर्छ । साथीहरूको लहलहैमा पनि नलाग्नुस्,” मन्त्री देउवाले भने, “सकरात्मक कुरा सोचौँ । आफ्ना घरपरिवारलाई सम्झिउँ, लागुऔषध प्रयोगमा नलाग्नुस् । यसले कसैलाई राम्रो गर्दैन ।”
लागुऔषध दुर्व्यसनीमा फसेकालाई छोड्न आग्रह गर्दै उनले भने, “लागुऔषधमा फसिसकेकाले त्यसबाट निस्कन सकिन्न भन्ने नसोच्नुस् । निस्कन सक्नुहुन्छ, मान्छेले चाहे जे पनि हुन्छ । आजकै दिनदेखि छोड्नुस् ।”
मन्त्री देउवाले लागुऔषध दुर्व्यसनी नेपालमा मात्रै नभएर भारतमा समेत ठूलो समस्याका रूपमा रहेको बताए। उनले भने, “लागुऔषधको समस्या पहिलेदेखि नै हो । यसले विशाल रूप लिएको देख्दा चिन्ता र दुःख लागेको छ । यहाँ पनि धेरै घरपरिवारमा यो समस्या छ । लागुऔषध दुर्व्यसनी नलाग्न म आग्रह गर्न चाहन्छु ।”
प्रतिक्रिया दिनुहोस्