खुवा व्यवसायबाट मासिक एक लाख रुपैंयाँ आम्दानी
![](https://www.ratokagaj.com/wp-content/uploads/2025/02/Photo-2-26-1296x668.jpg)
२९ माघ, हेटौंडा । हेटौँडा–१७ निवासी उत्तम श्रेष्ठले खुवा व्यवसायबाट मासिक एक लाख रुपैंयाँ कमाउँदै आएका छन् । उनले यही पेसाबाट आत्मनिर्भर बन्दै आएका हुन् । उनको दैनिकी बिहान उठेदेखि राति अबेरसम्म खुवा घोटेर बित्ने गर्दछ । दुई वर्षदेखि खुवा व्यवसायमा लागेका श्रेष्ठको चुच्चे खोलामा उत्तम खुवा घर सञ्चालनमा छ ।
खुवा व्यवसायमा लाग्नुअघि श्रेष्ठले लामो समयदेखि किराना पसल र तोरी मील सञ्चालन गर्दथे । गाउँघरमा उधारो धेरै हुने गरेकाले किराना पसलबाट खासै उपलब्धि हुन नसकेपछि श्रेष्ठ खुवा व्यवसायतर्फ लागेको उनले बताए ।
खुवाको हब बन्दै गएको सोही स्थानमा व्यवसाय सम्हाल्न पुगेका उनले आजभोलि दैनिक ३० किलो खुवा बिक्री गर्दै आएका छन् । उनको पसलमा खुवासँगै विभिन्न मिठाइका परिकार, केराको मःम, छोइला, पुष्टकारीहरु उत्पादनसँगै बिक्री हुनेगर्दछ । खुवा व्यवसायमा मनग्य आम्दानी देखेका श्रेष्ठले दूधको आपूर्तिका लागि किसानलाई भैँसी किन्न लगानी समेत गरेका छन् ।
उनले भने, ‘खुवाका लागि भैँसीको दूध आवश्यक पर्छ । सोहीअनुरूप किसानलाई दस लाख रुपैंयाँ लगानी गरिसकेको छु ।’ परम्पराभन्दा आधुनिकतातर्फ लम्किँदै व्यवसाय गर्नका लागि उनले सफा, सुग्घर र आकर्षित सजावट गर्दै व्यवसायलाई अगाडि बढाइरहेका छन् ।
खुवा पेसा सम्हालेदेखि उनले आफ्नो व्यवसायबाट ६ जनालाई रोजगारी दिएकोसमेत बताए । खुवासँगै खाजा नास्तालगायतबाट मासिक दस लाख रुपैंयाँको कारोबार हुने गरेको श्रेष्ठले बताए ।
मासिक दूध, खुवा पकाउने दाउरा खरिद, कर्मचारीलगायतमा मासिक साढे आठ लाख खर्च हुने पनि बताए । अरू पेसामा भन्दा खुवा पेसामा काम गर्दा सन्तुष्ट मिलेको उनको भनाइ छ । आफूसँगै परिवारको पनि सहयोग लिएर उनले खुवा व्यवसायलाई अझै बढाउने सोचमा रहेको बताए ।
खुवा बेचेरै मासिक रु एक लाख कमाउन सकिने भएपछि उनले पैसा कमाउन विदेशिने युवापुस्तालाई देशमै कमाउन सकिने उदाहरण प्रस्तुत गरेका छन् । उनको पसलबाट उत्पादित खुवा काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रे, चितवनलगायतका जिल्लामा निर्यात हुने बताए ।
कान्ति लोकपथ भएर हिँडने यात्री र खुवाका पारखीलाई आजभोलि उत्तमको खुवा पसलले आकर्षण गर्ने गरेको छ । खुवा व्यवसायबाट पनि आत्मनिर्भर बन्न सकिने राम्रो उदाहरण उनले प्रस्तुत गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्