संसद बैठक नियम अनुसार चल्नुपर्ने माग
![](https://www.ratokagaj.com/wp-content/uploads/2025/02/Mahesh-Bartaula-1-925x700.png)
२९ माघ, काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले माओवादी केन्द्रका प्रमुख सचेतकले उठाएको कुरामा आपत्ति जनाएका छन् ।
मंगलबार प्रतिनिधि सभाको बैठकमा समयको माग गर्दै उनले प्रमुख प्रतिपक्षी दलका प्रमुख सचेतकले उठाएको कुराले अन्यौलता सिर्जना भएको भन्दै बैठक संसदको नियम अनुसार चल्न माग गरेका छन् ।
उनले भने, ‘भर्खरै प्रमुख प्रतिपक्ष दलका प्रमुख सचेतकले जे विषय यहाँ राख्नु भयो यसले केही ध्यानाकर्षण गरायो । बैठक संसदको नियम अनुसार चल्छ, तलबाट के लाग्यो त्यसको आधारमा बैठक चल्दैँन् । साथीहरुले ख्याल पु¥याउनु पर्यो । उहाँले राख्नु भएको कुरा कार्यसूचीमा के रहने के नरहने भन्ने सन्दर्भ र कार्य व्यवस्थाको कुरा पनि राख्नुभयो । कार्यव्यवस्था परामर्श समिति बैठकले क्यालेन्डर बनाएको छ र त्यो सबैको हात हातमा छ । सम्भावित कार्यसूचीबारे कार्यव्यवस्था परामर्श समिति बैठकले निर्णय गरेको छ । त्यसकारण अहिले भर्खर जे कुरा आयो त्यसले अन्यौलता सिर्जना भयो । बैठक संसदको नियम अनुसार चल्न माग गर्न चाहन्छु ।’
यस्तै, उनले संसदको नियमावलीको नियम १२ ले सभामुखको निर्देशन अनुसार कार्यसूची तलमाथि हुनसक्ने व्यवस्था गरेको भन्दै सोही अनुसार काम भएको बताए ।
त्यसअघि नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले सरकारले संसदलाई अपहेलना गरिरहेको बताएका थिए । उनले सरकारले जनताका प्रतिनिधिहरुको आवाजलाई नसुनेको र आजको कार्यसूची हटाएको भन्दै सरकारले संसदलाई अपहेलना गरिरहेको बताएका थिए ।
प्रतिक्रिया दिनुहोस्