विपिन जोशी रिहाइको कार्य प्रगतीबारे सदनमा जानकारी गराउन माग
![](https://www.ratokagaj.com/wp-content/uploads/2025/02/Chitra-Bahadur-Kc--1296x700.jpg)
२९ माघ, काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले हमासको गिरफ्तारीमा रहेको विपिन जोशी रिहाइको कार्य प्रगतीबारे सदनमा जानकारी गराउन माग गरेका छन् ।
मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले जोशीको रिहाईको लागि सरकारले के प्रयास गरेको छ, कति कोशिस गरेको छ, कहाँसम्म संघर्ष गरिरहेको छ त्यो कुरा संसदलाई जानकारी गराउनुपर्ने बताए ।
उनले भने, ‘इजरायल र हमासबीच जुन युद्ध भयो त्यसबाट ५० हजार मान्छे मरे । दुई समूहबीच सम्झौता भयो । युद्ध बिराम भयो । कयौं देशका मान्छेहरु हमासको गिरफ्तारीमा परेका रिहाई भए तर कन्चनपुरको विपिन जोशीको अहिलेसम्म केही पत्ता लागेको छैन् । यस सम्बन्धमा सरकारले सदनमा जानकारी गराउन पर्दैन् ? उहाँ जीवित हुनुहुन्छ भन्ने कुरा सुनिन्छ । यसले सरकारको जिम्मेवारी पूरा हुदैँन् । रिहाइका लागि सरकारले के प्रयास गरेको छ, कति कोशिस गरेको छ, कहाँसम्म संघर्ष गरिरहेको छ त्यो कुरा संसदलाई जानकारी गराउनुपर्छ ।
प्रतिक्रिया दिनुहोस्