३० माघ २०८१, बुधबार
बागमती मुख्‍य समाचार समाचार समाज

काभ्रेको पाँच तहमा ‘एक वडा–एक कृषि उत्पादन’ कार्यक्रम

काभ्रेपलाञ्चोक, ३० माघ । यहाँको पाँच स्थानीय पालिकामा ‘एक वडा–एक कृषि उत्पादन’ कार्यक्रम कार्यान्वयन गरिएका छन् ।

बागमती प्रदेश सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालय, कृषि विकास निर्देशनालयद्वारा सञ्चालित कार्यक्रम अनुसार चालु आर्थिक बर्षबाट पाँच बर्षका लागि काभ्रेपलाञ्चोकको पाँच तहको पाँच वडामा उक्त कार्यक्रम कार्यान्वयन गरिएको हो ।

जिल्ला कृषि विकास कार्यालय धुलिखेलका अनुसार पनौती नगरपालिका–५, बेथानचोक गाउँपालिकाको २, महाभारतको ५, खानीखोलाको २ तथा भुम्लु गाउँपालिकाको एक नं वडामा उक्त कार्यक्रम कार्यान्वयन गरिएको हो । कार्यक्रम अनुसार पाँच वटा वडामा छ सय रोपनी जमिनमा तरकारी, कफी तथा किवी उत्पादनको काम गरिनेछ ।

कृषि विकास कार्यालय, स्थानीय तह तथा लाभग्राही समुदाय एवं सहकारीबीच त्रीपक्षीय सम्झौता गरेर कार्यक्रमको थालनी सुरु गरिएको हो । पनौती र बेथानचोकमा तरकारी, महाभारत र खानीखोलामा कफी तथा भुम्लुमा किवी उत्पादनका लागि छनौट भएको छ ।

कार्यक्रम सञ्चालननार्थ स्थानीय सहकारी संस्था एवं समुदायको समूहसँग सम्झौता गरिने जनाइएको छ । स्वीकृत कार्यक्रमअनुसार महाभारतमा कफी खेतीका लागि सम्झौता भैसकेको तथा खानीखोलामा सोही प्रकृतिको सम्झौताको प्रक्रियामा रहेको कार्यालय प्रमुख कुलप्रसाद दवाडीले बताए ।

“समुदाय तथा सहकारी छनोट गरी सम्झौताकार्य भइरहेको छ, मौसमी तथा बेमौसमी तरकारी छनोट गरी लगत्तै उत्पादनकार्य थाल्नेछौँ”, उनले भने । उनका अनुसार कार्यक्रम कार्यान्वयन गर्न स्थानीय तहका जनप्रतिनिधि तथा समुदायबीच छलफल सम्पन्न गरिएका छन् ।

बागमती प्रदेश सरकारले चालु आवमा कृषि उत्पादनलाई प्राथमिकता दिँदै ‘एक वडा–एक कृषि कार्यक्रम’अन्तर्गत पाँच बर्षका लागि पशुपन्छी तथा मत्स्यजन्य उत्पादन कार्यक्रम सञ्चालनमा ल्याएको हो । साझेदारीमा सञ्चालन गरिने उक्त कार्यक्रम अन्तर्गत सरकारले ६० प्रतिशत, स्थानीय तहले २० प्रतिशत तथा समुदाय वा सहकारीले २० प्रतिशत लागनी हुनेछ । यसअन्तर्गत एउटा वडाका लागि रु ६६ लाख उत्पादनकार्यमा लगानी गरिने भएको हो ।

प्रतिक्रिया दिनुहोस्