गुञ्जिन छाडे मौलिक लोकभाका
![](https://www.ratokagaj.com/wp-content/uploads/2025/02/Madal-01.jpg)
तेह्रथुम, ३० माघ । पछिल्लो समय पाश्चात्य एवं आधुनिक गीत सङ्गीतकोे प्रभावसँगै नेपाली मौलिकता झल्काउने परम्परागत लोकभाका हराउँदै गएका छन् । लोकभाकाहरु समाजबाट हराउँदै जाँदा अग्रजले चिन्ता व्यक्त गर्न थालेका छन् ।
म्याङलुङ नगरपालिका–२ की ७३ वर्षीया दिलुकुमारी खड्काले आफ्नो बाल्यकालमा विभिन्न कार्यमा गाइने सङ्गीनी, बालनजस्ता लोकलयहरु अहिले गुञ्जिन छाडेकामा चिन्ता लागेको बताए । “पहिला–पहिला छोराको बिहेमा अनिवार्य सङ्गीनी गाउनुपथ्र्यो, अहिले पनि हामी पाका उमेरकाहरु त गाउन भन्छाँै तर अहिलेकाले मान्दैनन् । डिस्को र डान्स गर्छन्, पुराना लोकलय हराउँदा दुःख लाग्छ नि ।”
नेपाली लोकजीवनका विभिन्न अवसरमा त्यस्तै घाँस दाउरा मेला पात र उकालीओरालीमा यस्ता लोकलयहरु गाउने प्रचलन छ ।
यी यस्ता लोकलयमा वीरह र विलौना मात्रै पोखिँदैनन् सामाजिक रुपान्तरणका सन्देश, संस्कृति र सभ्यताका गाथाहरु पनि लुकेको हुने गरेको आठराई गाउँपालिका–२ खाम्लालुङकी ७० वर्षीया देवीमाया दाहालले बताए ।
विभिन्न समुदायले आफ्नो जातीय संस्कृतिअनुसारका अवसरमा यस्ता लोकभाकाहरु गाउने गर्दछन् । तामाङको सोनाम ल्होछारसँगै अन्य अवसरमा तामाङ समुदायले गाउने तामाङ सेलो ।
बाबुबाजेले गाइल्याएको अहिलेसम्म आफूहरुले निरन्तरता दिएको फेदाप गाउँपालिका–५ लाम्थुम्बाकी सुमित्रा तामाङले बताए। तामाङ समुदायको विभिन्न कार्यहरु तथा चाडबाडमा डम्फू बजाउँदै गाउने सेलोको भाका पछिल्लो पुस्ताहरुमा हराउँदै गएको उनले बताए । “अहिले रेकर्डिङ गरिएका गीतहरु चिप्स र साउण्ड सिस्टममा बज्छन्, भाका कसले टिप्ने ।”
आदिवासी जनजातिअन्तर्गत लिम्बू जातिको अधिक बसोबास रहेको तेह्रथुम जिल्लामा लिम्बू जातिले गाउने पालाम केसाम, हाम्पारेसँगै किरात राई जातिको साकेला गीत तामाङ जातिको तामाङ सेलो त्यस्तै बालन सङ्गीनी असारेजस्ता लोकभाका तेह्रथुममा प्रचलित लोकलय हुन् ।
बालन, सङ्गीनी, पालाम, हाक्पारे, सेलो, असारेजस्ता लोकजीवनका परम्परागत भाका पुस्तान्तरण हुन नसक्दा पछिल्लो समय यस्ता लोकभाकाको अस्तित्व सङ्कटमा पर्दै गएको छ । तर पुस्तान्तरण हुन नसक्दा यस्ता लोकभाका अहिलेका युवायुवतीको जनजिब्रोबाट हराउँदै गएका छन् । यसबाट सांस्कृतिक विचलन निम्तिने खतरा रहेको सांस्कृतिक अभियन्ता मनु याक्थुङबा बताउछन् ।
“सूचना सञ्चारको नवीनतम विकाससँगै पछिल्लो पुस्ताहरुमा कोठामा बसेर युट्ययुब, फेसबुक, पब्जी गेमजस्ता सामाजिक सञ्जालको प्रयोग गरी एक्लाएक्लै रमाउने चनलको विकास भइरहेको छ ।” जसले गर्दा समुदायका अघिल्लो पुस्तासँगको दूरी र टिनएज त झन आफ्नै उमेर समूहसँग मात्रै घुलमिल भइरहँदा पनि अघिल्लो पुस्ताका लोकभाका पछिल्लो पुस्तामा हस्तान्तरण हुन नसकेको उनको भनाइ छ ।
नेपाली समाजको चिनारीको रुपमा रहेका यस्ता लोकलयहरु हराउँदै गर्दा यसको संरक्षणका लागि सामूहिक प्रयास आवश्यक रहेको म्याङलुङ बहुमुखी क्याम्पस तेह्रथुमका प्राध्यापक सुवास निरौलाले बताए। यस्ता लोकलयहरु लामो समयमा विकास भएको त्यो समुदायको विकासक्रम बुझाउने, मौलिकता बुझाउने भएकाले यसको संरक्षण गर्नु जरुरी रहेको उनको भनाइ छ ।
लोक सङ्गीत, सङ्गीतको जननी हो । समाज संस्कृति र सभ्यता बुझाउने यस्ता लोकभाकालाई पुर्नजीवन दिन सम्बद्ध सबै पक्षले चासो दिनु आवश्यक छ ।
प्रतिक्रिया दिनुहोस्