दशौँ राष्ट्रिय खेलकुदः महिला क्रिकेटअन्तर्गत बैतडी फाइनलमा प्रवेश
![](https://www.ratokagaj.com/wp-content/uploads/2025/02/khelkud.jpg)
बैतडी, ३० माघ । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला क्रिकेटको सुदूरपश्चिम छनोटमा बैतडी फाइनलमा प्रवेश गरेको छ ।
आज सम्पन्न खेलमा कैलालीलाई ३१ रनले हराउदै बैतडी उपाधि नजिक पुगेको हो ।
जितका लागि पाएको ८५ रनको लक्ष्य पछ्याएको कैलाली १३ ओभरमा ५३ रन बनाउँदै बाहिरियो । जसमा हिसिला खड्काले ११ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।
बैतडीका लागि कप्तान रितु कनौजिया, जानकी थापा, आरती बोहराले दुई/दुई र वसन्ती बोहराले एक विकेट हात पारिन् ।
यसअघि धनगढीस्थित कैलालीगाउँको खेलमैदानमा पहिला ब्याटिङ गरेको बैतडी १४ दशमलव चार ओभरमा ८४ रनमा समेटियो । जसमा कप्तान रितु कनौजियाले सर्वाधिक ३७ र करिश्मा थापाले १३ रनको योगदान गरिन् ।
कैलालीका खुसी पौडेलले तीन र कप्तान स्नेहा महराले दुई विकेट झारे । उपाधिका लागि अब बैतडीले कञ्चनपुरसँग प्रतिस्पर्धा गर्नेछ ।
प्रदेशस्तरीय छनोटबाट राष्ट्रिय प्रतियोगिताका लागि खेलाडी चुनिने छन् । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी चैत २३ देखि ३० गतेसम्म कर्णाली प्रदेशको सुर्खेतमा हुने तय भएको छ ।
प्रतिक्रिया दिनुहोस्