१ फाल्गुन २०८१, बिहीबार
खेलकुद बागमती मुख्‍य समाचार समाचार समाज

जिल्ला स्तरीय राष्ट्रपति रनिङ सिल्डको उपाधि मन्थली नगरपालिकालाई

रामेछाप । १२ औँ रामेछाप जिल्ला स्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताको उपाधि मन्थली नगरपालिकाले जितेको छ ।

मन्थली नगरपालिकाको व्यवस्थापन र जिल्ला खेलकुद विकास समिति रामेछापको आयोजनामा सदरमुकाम मन्थलीमा बुधबार सम्पन्न भएको खेलमा मन्थली नगरपालिकाले २२ स्वर्णपदक जित्दै उपाधि जितेको हो ।
तीन दिनसम्म सञ्चालित प्रतियोगितामा मन्थलीले २३ रजत र ३२ कांस्य पदक पनि जितेको छ । मन्थलीले कूल ७७ पदक हात पारेको छ ।

प्रतियोगितामा उमाकुण्ड गाउँपालिका दोस्रो भएको छ । उमाकुण्डले २१ स्वर्ण, १२ रजत र ११ कांस्य गरी ४४ पदक जितेको छ ।

यसैगरी सो प्रतियोगितामा जिल्लाका लिखु तामाकोसी गाउँपालिका तेस्रो भएको छ । लिखु तामाकोसीले ८ स्वर्ण ६ रजत र १२ कांस्य सहित २६ पदक जितेको छ ।

जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सिताराम कार्कीका अनुसार प्रतियोगितामा ६ स्वर्ण, ९ रजत र १८ कांस्य गरी कूल ३३ वटा पदक जित्दै दोरम्बा शैलुङ गाउँपालिका चौथो भएको छ ।

प्रतियोगितामा रामेछाप नगरपालिकाले ५ स्वर्ण, ९ रजत र १८ कांस्य गरी कूल ३२ पदक जितेको छ । खाँडादेवी गाउँपालिकाले २ स्वर्ण, ४ रजत र ३ कांस्य गरी ९ वटा पदक जितेको छ । सुनापति गाउँपालिकाले १ स्वर्ण ४ रजत र ३ कांस्य गरी ८ वटा पदक जितेको छ । त्यस्तै गोकुलगंगा गाउँपालिकाले १ स्वर्ण ४ रजत र १ कांस्य गरी ६ वटा पदक जितेको छ ।

प्रतियोगितामा पहिलो हुनेले नगद ३० हजार, दोस्रो हुनेले २० हजार र तेस्रो हुनेले १० हजार नगद पुरस्कार, सिल्ड, मेडल र प्रमाणपत्र पाएका छन् ।

प्रतियोगितामा समान ६६ वटा स्वर्ण, रजत र कांस्य पदक राखिएको थियो । जसमा भलिबल, कबड्डी, एथलेटिक्स, तेकान्दो, उसु, कराँते लगायतका खेल समावेश गरिएको थियो । प्रतियोगितामा जिल्लाका २ नगरपालिका र ६ वटा गाउँपालिकाबाट ७ सय ३९ जना खेलाडी सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्