हिमालयन एअरलाइन्सद्वारा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट पहिलो अन्तर्राष्ट्रिय व्यावसायिक उडान गर्ने घोषणा
![](https://www.ratokagaj.com/wp-content/uploads/2025/02/Photo-1-38-1296x700.jpg)
पोखरा । हिमालयन एअरलाइन्सले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट पहिलो अन्तर्राष्ट्रिय व्यावसायिक उडान गर्ने घोषणा गरेको छ ।
एअरलाइन्सले आफ्नो फेसबुक पेजमार्फत् नेपालको पर्यटन राजधानीलाई विश्वको छाना ल्हासासँग जोड्न लागिएको जनाएको छ ।
उसले भनेको छ, ‘यसै मार्चदेखि साप्ताहिक उडान शुरु हुँदैछ । हिमालय एयरलाइन्ससँग उड्न तयार हुनुहोस् । अपडेटका लागि प्रतीक्षा गर्नुहोस् ।’
पोखराका मेयर धनराज आचार्यले पोखराबाट ल्हासाका लागि पहिलो अन्तर्राष्ट्रिय व्यावसायिक उडान सञ्चालन हुनु अन्तर्राष्ट्रिय उडानको क्षेत्रमा ऐतिहासिक उपलब्धि रहेको बताएका छन् ।
उनले भनेका छन्, ‘चिनियाँ सरकारले आफ्ना नागरिकहरूका लागि घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२५ र हामीले मनाउँदै गरेको पोखरा भ्रमण वर्ष २०२५ को सफलताका लागि यो महत्त्वपूर्ण कदम हो ।
यस अवसरलाई पर्यटन प्रवद्र्धनका लागि सदुपयोग गर्न पर्यटन व्यवसायीहरू, सरोकारवालाहरू तथा सम्पूर्ण पोखरेली जनसमुदायलाई आग्रह गर्दछु ।’
अब उत्तरी छिमेकमा औपचारिक उडान शुरु भएको छ र दक्षिणतर्फ आवश्यक पहल गर्न उनले आग्रह गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्